‘तपाईं ठूलो स्वरमा बोल्दै हुनुहुन्छ, चुप लाग्नुहोस्’ : ह्वाइट हाउसमा ट्रम्प र सीएनएनकी पत्रकारबीच चर्काचर्की
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सीएनएनकी पत्रकार क्रिस्टेन होम्सबीच ह्वाइट हाउसमा प्रश्नोत्तरका क्रममा चर्काचर्की भयो। राष्ट्रपति ट्रम्पले होम्सलाई ‘धेरै ठूलो स्वरमा बोल्ने’, ‘बोझिलो’ र ‘फेक न्युज’ भन्दै चुप लाग्न भने।
सोमबार ओभल अफिसमा आयोजित एक कार्यक्रममा पत्रकार होम्सले ट्रम्पकी कार्यकारी सहायक नताली हार्पसँग राष्ट्रपतिको सम्बन्धबारे एक डेमोक्रेटिक सांसदले गरेको टिप्पणीबारे प्रश्न गरेकी थिइन्।
उनको प्रश्नपछि ह्वाइट हाउस र राष्ट्रपति ट्रम्प सीएनएन पत्रकारमाथि खनिए। ह्वाइट हाउसको ‘र्यापिड रेस्पोन्स’ टोलीले पनि होम्समाथि व्यक्तिगत आक्रमण गर्यो। टोलीले एक्समा होम्सलाई लक्षित गर्दै उनको प्रश्नलाई ‘घिनलाग्दो र अमानवीय’ भन्दै आलोचना गरे।
"कुनै दिन तपाईंका छोराछोरीले तपाईंको यो घिनलाग्दो र अमानवीय प्रश्न देख्नेछन्। आफ्ना अभिभावक यति कठोर र प्रतिशोधी भएको देखेर उनीहरू लज्जित हुनेछन्," ह्वाइट हाउसको र्यापिड रेस्पोन्स अकाउन्टले लेखेको थियो।
उक्त पोस्टमा ट्रम्पले होम्सलाई जवाफ दिएको भिडियोसमेत राखिएको थियो।
घटनाको पृष्ठभूमि
सोमबार ओभल अफिसमा एक किशोर लाइफगार्डलाई सम्मान गर्न कार्यक्रमको गरिएको थियो। ती किशोरले समुद्रको ठूलो छालमा फसेका एक बालकको ज्यान बचाएका थिए। तर ट्रम्पले नियमित रूपमा गर्ने शैलीअनुसार कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई अन्य विषयमा प्रश्न सोध्ने अवसर दिएका थिए।
उक्त कार्यक्रमका सीएनएनकी पत्रकार क्रिस्टेन होम्सले राष्ट्रपति ट्रम्पलाई प्रश्न सोधेकी थिइन्। होम्सले डेमोक्रेटिक सेनेटर जोन ओसोफले अघिल्लो दिन दिएको अभिव्यक्तिबारे ट्रम्पको प्रतिक्रिया मागेकी थिइन्।
सेनेटर ओसोफले आफ्नो चुनावी सम्बोधनमा ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नुभन्दा पनि ४०० मिलियन डलरको बलरुम बनाउन र आफ्नी ३५ वर्षीया सहयोगी नेटली हार्पसँग भ्रमण गर्न रुचाएको आरोप लगाएका थिए।
उक्त प्रश्नको जवाफ दिँदै ट्रम्पले सेनेटर ओसोफलाई 'पी-वी हर्मन जस्तै देखिने' भन्दै व्यङ्ग्य गरे तर आफ्नी सहयोगीबारे कुनै टिप्पणी गरेनन्।
त्यसपछि उत्तर कोरिया र सैन्य अभ्यासबारे थप प्रश्न सोध्न खोज्दा ट्रम्पले पत्रकार होम्सलाई रोक्दै भने, "तपाईं ठूलो स्वरमा बोल्ने, होहल्ला गर्ने व्यक्ति हुनुहुन्छ। तपाईं फेक न्यूज हो, चुप लाग्नुहोस्।"
ट्रम्पले उनलाई 'अत्यन्तै अनादरपूर्ण' र 'फेक रिपोर्टर' भएको आरोप लगाए।
सीएनएनको प्रतिक्रिया
सीएनएनले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसको आक्रमणको भर्त्सना गरेको छ। सीएनएनले ट्रम्प र ह्वाइट हाउसबाट भएको आक्रमण ‘राष्ट्रपतिको कार्यालयको मर्यादाविपरीत’ भएको बताएको छ।
सीएनएनले भनेको छ, "क्रिस्टेनले अमेरिकी जनताको तर्फबाट एउटा महत्त्वपूर्ण र सान्दर्भिक प्रश्न सोधेकी थिइन्। पत्रकारमाथि यस्ता व्यक्तिगत आक्रमणहरू राष्ट्रपतिको कार्यालयको मर्यादाविपरीत र स्वतन्त्र प्रेसको सिद्धान्तविरुद्ध छन्। हामी क्रिस्टेनको पक्षमा दृढताका साथ उभिएका छौँ।"
नताली हार्पलाई लिएर विवाद
पूर्व टेलिभिजन प्रस्तोता रहेकी नेटली हार्प ट्रम्पको नजिकको सहयोगीका रूपमा चिनिन्छिन्।
जुलाईमा भएको गोप्य एयर फोर्स वन जहाज परिवर्तनको क्रममा पनि उनी ट्रम्पसँगै थिइन्। डेमोक्रेटिक सिनेटर तथा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवार जोन ओसोफले आइतबार एक चुनावी भाषणमा ट्रम्पमाथि व्यंग्य गर्दै उनी आफ्नो काम गर्नुभन्दा ‘बलरुम निर्माण गर्ने र नतालीसँग यात्रा गर्ने’ चाहनामा रहेको आरोप लगाएका थिए।
यस वर्ष प्रकाशित पुस्तक 'रिजिम चेन्ज' अनुसार, हार्पले ट्रम्पलाई 'तपाईं नै मेरो लागि सबथोक हुनुहुन्छ' भन्ने जस्ता पत्रहरू समेत लेखेकी थिइन्।
महिला पत्रकारहरूमाथि ट्रम्प र ह्वाइट हाउसको यो आक्रमण पछिल्लो शृङ्खला मानिएको छ।
भदौ २, २०८३ मंगलबार ११:५२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।