गगनले शेरबहादुर देउवालाई भने : तपाईँका आफ्नैले डुबाए दाइ, फेरी डुबाउँछन्
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्ना बनेर नजिक रहेकाहरूले नै पटक पटक शेरबहादुर देउवालाई ढाँटेर डुबाउने काम गरेको बताए। पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आफूहरू निवर्तमान सभापतिको रूपमा १५ औँ महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै भने “सबै मिलिसक्या छ भनेर ढाँटिरहेका छन् दाइ।”
उनले संस्थापन इतर समूहको कार्यालयमा अहिले जसले सभापति भनेर देउवाको नेमप्लेट राखे तीनले आफूसँग भेटेर कहिल्यै शेरबहादुरलाई मिलाउनु पर्छ नभनी मलाई मिलाए हुन्छ भनेको बताए। उनले नीतिगत रूपमा विमति रहे पनि पार्टीको नेतृत्व र अग्रज नेताको रूपमा सधैँ सम्मान रहेको उनले बताए।
विमति रहे पनि आफूहरूले सधैँ साथ दिएको तर देउवा नजिक रहेकाहरूले नै सबै भइसक्यो, सबै मिलिसक्यो भनेर ढाँट्ने काम गरेको उनले दाबी गरे।
“भदौ २२ गते र २३ गते म तपाईँकै घरमा थिएँ। भदौ २४ बिहान पनि संवादमा रहने मै हुँ। अस्पतालमा गएपछि पहिलो पटक संवाद गर्ने पनि मै हुँ,” उनले भने “असोज २७ गते कुरा गरेर, असोज २८ गते वक्तव्य परिमार्जन गर्ने मै हुँ। फेरि तपाईँलाई लिन आए, बोलाउन आए। सब ठिक छ। संसद् नै पुनर्स्थापना हुने भो भनेर फेरी ढाँटे र अलमलाए।”
विशेष महाधिवेशनको दिन कार्वाहीको निर्णय हुनु भन्दा अगाडि बिहानै देउवाको घरमा तत्कालीन अर्का महामन्त्री विश्वप्रकाशसहित पुगेको तर भेट हुन नसकेको भन्दै त्यो बेलामा पनि नजिक हुनेहरूले नै सबै मिलिसक्यो। अब यी दुई केटालाई ठोके हुन्छ भनेर ढाँटेको तर केही नमिलेको बताए।
फागुन २१ को निर्वाचनमा शेरबहादुर देउवालाई टिकट नदिए म चुनाव लड्दिन भन्न कोही नआएको र आएर आफ्नो टिकट लिएर गएको उनले बताए।
“दाइ तपाईँलाई टिकट नदिई म लड्दिन भनेर कोही आएन। अहिले दाइ तपाईँ नभएकाले हारियो भनेर ढाँटिरहेका छन्” उनले भने “अहिले फेरि सबै मिल्छ। अदालत मिलाएका छौँ। एक दुई कुरा छन्, त्यो तीन चोटि बोले हुन्छ भनेर फेरी ढाँटे दाइ।”
उनले १५ औँ महाधिवेशनको निर्धारित मिति संशोधन नहुने तर केही कार्यतालिका हेरफेर हुने भन्दै पार्टीका सबैलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे। उनले देउवालाई पनि निवर्तमान सभापतिको रूपमा १५ औँ महाधिवेशनमा आएर सम्बोधन गर्न आग्रह गरे।
भदौ १, २०८३ सोमबार २०:०६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।