'इरानले आत्मसमर्पणको सेतो झण्डा देखाउनुपर्छ' : ट्रम्प

'इरानले आत्मसमर्पणको सेतो झण्डा देखाउनुपर्छ' : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध रोक्न र 'आत्मसमर्पणको सेतो झण्डा देखाउन' आग्रह गरेका छन्। सोमबार 'फक्स न्युज' सँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न आफूलाई कुनै हतारो वा निश्चित समयसीमा नरहेको बताएका छन्।

‘मसँग कुनै समयसीमा छैन, म हतारमा छैन,’ ट्रम्पले भने। उनले अमेरिकामा हुन लागेको मध्यावधि निर्वाचनले आफूले लिने निर्णयमा कुनै प्रभाव नपारेको दाबी पनि गरे।

यसैबीच, जुन महिनामामा अमेरिका र इरानबीच भएको ६० दिने समझदारी पत्रको समयसीमा सोमबार सकिएको छ। वार्ताहरू अवरुद्ध बनेपछि द्वन्द्व थप जटिल मोडमा पुगेको छ।

ओमानलाई ट्रम्पको चेतावनी र आईआरजीसीसँग ब्याकच्यानल वार्ता

राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ हर्मुज'  खोल्ने प्रयासमा अवरोध गरेमा ओमानमाथि समेत कडा आक्रमण गर्ने चेतावनी दिएका छन्। इरानले ओमानसँग स्ट्रेट अफ हर्मुज पुनः खोल्ने विषयमा छलफल गरिरहेको जनाएको थियो।

ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग आफ्नो प्रशासनले अप्रत्यक्ष कूटनीतिक सम्पर्क कायम राखेको जानकारी दिँदै आईआरजीसीलाई ‘राम्रा पोकर खेलाडी’ भए पनि उनीहरू कमजोर बन्दै गएको दाबी गरे।

ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानले कुनै पनि हालतमा वा स्वरूपमा आणविक हतियार प्राप्त गर्न नसक्ने अमेरिकी मुख्य लक्ष्य यथावत् रहेको दोहोर्याएका छन्।

इरानको कडा प्रतिक्रिया र आक्रामक रणनीतिको घोषणा

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बाघाईले अमेरिकाले गरेको 'गम्भीर उल्लंघन' का कारण समझदारी पत्रको सीमा अर्थहीन बनेको र इरानी सेना युद्धका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। आईआरजीसीका वरिष्ठ कमाण्डर ब्रिगेडियर जनरल यादोल्लाह जावानीका अनुसार नयाँ ‘अधिकतम निवारण’ नीतिअन्तर्गत इरानको रक्षात्मक रणनीति अब आक्रामक रणनीतिमा परिणत हुन सक्छ।

आईआरजीसीका उप-कमाण्डर-इन-चिफ मेजर जनरल मोस्तफा इजादीले युद्ध सुरु भएयता इरानले २०० भन्दा बढी 'शत्रुका विमानहरू' खसालेको दाबी गर्दै जारी द्वन्द्वलाई ‘हाइब्रिड युद्ध’ को संज्ञा दिएका छन्।

इरानका न्यायपालिका प्रमुख घोलाम-होसेन मोहसेनी एजेईले राष्ट्रिय एकता र सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको निर्देशन पालना नै विजयको मुख्य कुञ्जी भएको बताएका छन्।

भदौ १, २०८३ सोमबार १८:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।