विशेष महाधिवेशनले अराजकता निम्त्याएको कांग्रेस नेता साउदको आरोप

विशेष महाधिवेशनले अराजकता निम्त्याएको कांग्रेस नेता साउदको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको विशेष महाधिवेशनलाई तथाकथितको संज्ञा दिँदै संगठनात्मक एकता कायम अहिलेको मुख्य आवश्यकता भएको बताएका छन्।

कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा शनिबार ‘मुलुकका समसामयिक विषय’सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै साउदले विशेष महाधिवेशनले पार्टीमा संगठनात्मक अराजकता सिर्जना गरेको आरोप लगाए। केन्द्रीय समितिको स्वामित्व विना र विधानको प्रक्रिया मिचेर विशेष अधिवेशन बोलाइएको उनको निष्कर्ष छ।

"विधानकै प्रक्रिया विपरीत कोही पनि व्यक्ति, चाहे त्यो सभापति होस्, चाहे कार्यवाहक सभापति हो, चाहे महामन्त्री नै किन नहुन्, विशेष महाधिवेशन व्यक्तिगत रूपमा बोलाउँदा कुनै पनि संस्थामा 'संगठनात्मक अराजकता' सिर्जना हुन्छ," उनले भने, "किनभने चालीस प्रतिशतले विशेष महाधिवेशन बोलाउने र अर्को चालीस प्रतिशतले अर्को ठाउँमा बोलाउन सक्ने अवस्था रहन्छ। त्यही कारण संगठनात्मक अराजकता सिर्जना हुने गरी विशेष महाधिवेशन बोलाउने अधिकार कुनै पनि पदाधिकारीलाई हुँदैन।"

विशेष महाधिवेशनलाई सम्मान दिन नसकेको साउदको अवधारणा पत्रले भने फरक विचारको सम्मान गरेर बलियो कांग्रेस निर्माणमा जोड दिएको छ। पार्टीभित्र मतभेद हुन लोकतान्त्रिक पार्टीमा अस्वाभाविक नभएको उल्लेख गर्दै उनले मतभेदलाई शत्रुता, गुटीय निषेध र संगठन कब्जाको माध्यम बनाउँदा पार्टीको अस्तित्व संकटमा उत्पन्न गर्ने उल्लेख गरेका छन्।

साउन ३०, २०८३ शनिबार १६:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।