शिक्षा केन्द्रित फिल्मको नाम ‘मास्टर्नी’, तर १६ वर्षमुनिका विद्यार्थीले हेर्न नपाउने!
काठमाडौं : प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ प्रदर्शनको संघारमा रहँदा एकपछि अर्को चुनौतीको सामना गरिरहेको देखिन्छ। कहिले गीतका शब्दका कारण विवाद त कहिले ‘रि-सुट’को झमेला खेपेको यस फिल्मलाई अहिले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘एडल्ट सर्टिफिकेट’ दिएपछि निर्माण पक्ष थप दबाबमा परेको छ।
बिहीबार बालबालिका तथा किशोर किशोरीले हेर्न नमिल्ने एडल्ट सर्टिफिकेट प्रदान गरिएपछि फिल्म ‘मास्टर्नी’ हेर्ने दर्शक छुट्टिएका छन्। अब यो फिल्म हेर्न दर्शकको उमेर कम्तीमा १६ वर्ष पूरा भएको हुनुपर्नेछ। केही दिनअघि मात्रै साताभर लगाएर केही दृश्य पुनः छायांकन (रि-सुट) गरिएको यस फिल्मलाई सेन्सरको यो निर्णयले अर्को झड्का लाग्यो।
विवादको शृंखला सुरुमा फिल्मको प्रमोसनल गीतबाट सुरु भएको थियो। दुर्गेश थापाले कम्पोज गरेको उक्त गीतमा प्रियंका कार्कीको नृत्य र प्रयोग गरिएका शब्दलाई लिएर चौतर्फी आलोचना भयो। द्विअर्थी दिने गरी प्रस्तुत गरिएको ‘म्याथ सिक्ने’ जस्ता शब्दले शिक्षक र विद्यार्थीबीचको आदर तथा मर्यादामा आँच पुर्याएको भन्दै शिक्षक संगठनहरूले समेत आपत्ति जनाएका थिए। गीतले फिल्मलाई चर्चा र विवाद मात्रै गराएन, फिल्म बन्द गराउनुसम्मको आवाज उठ्यो।
विवाद यतिमा मात्र सीमित रहेन। फिल्मको अर्को अफिसियल गीत ‘गुराँस फुल्दा बनै रमाइलो’ सार्वजनिक भएपछि २५ वर्षअघिको ओर्जिनल गीतमा अभिनय गरेकी अभिनेत्री सुस्मिता केसीले पनि असन्तुष्टि व्यक्त गरिन्। उनले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा व्यङ्ग्य गर्दै नयाँ संस्करणले मौलिकतालाई न्याय गर्न नसकेको आशय व्यक्त गरेकी थिइन्।
अहिले भने चलचित्र जाँच पास समितिले फिल्म हेर्न पाउने दर्शकको उमेर १६ वर्ष माथिको हुनुपर्ने सर्टिफिकेट दिएपछि निर्माण पक्षलाई थप दबाबमा परेको छ। शुभेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्कीका साथै आर्यन सिग्देल, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, ऋचा शर्मा, गौरी मल्ल र सरोज खनाल जस्ता स्थापित कलाकारहरूको अभिनय छ।
भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई निर्माण पक्षले सुरुवाती प्रचारमा ‘ब्लकबस्टर’को संज्ञा दिएको थियो। यद्यपि, एकपछि अर्को विवाद र सेन्सर बोर्डको उमेर बन्देजले फिल्मको व्यापारमा कस्तो असर पार्छ, त्यो भने प्रदर्शनको पहिलो हप्तापछि नै प्रष्ट हुनेछ।
साउन ३०, २०८३ शनिबार १५:१४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।