ट्रम्पको नीति र अभिव्यक्तिविरुद्ध क्यानेडियनहरूद्वारा अमेरिका भ्रमण बहिष्कार, आफ्नै देशदेखि युरोप र अफ्रिकासम्मका गन्तव्य रोजाइमा

ट्रम्पको नीति र अभिव्यक्तिविरुद्ध क्यानेडियनहरूद्वारा अमेरिका भ्रमण बहिष्कार, आफ्नै देशदेखि युरोप र अफ्रिकासम्मका गन्तव्य रोजाइमा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि क्यानडाका धेरै नागरिकले अमेरिकाको यात्रा बहिष्कार गर्न थालेका छन्। अमेरिकी ट्यारिफ, क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने ट्रम्पका अभिव्यक्ति तथा दुई देशबीच बिग्रँदो सम्बन्धप्रति असन्तुष्टि जनाउँदै उनीहरूले अमेरिकामा खर्च गर्ने पैसा आफ्नै देश वा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा खर्च गर्न थालेका हुन्।

क्यानेडियनहरूले अमेरिका जाने आफ्ना तय भइसकेका भ्रमण समेत रद्द गर्दै त्यो रकम आफ्नै देशका विभिन्न स्थान वा अन्य विदेशी मुलुकहरूमा खर्च गर्न थालेका छन्।  

क्यानेडियन नागरिकहरूको बहिष्कार 
ओन्टारियोका केन ट्रस्कट र उनको परिवारले ट्रम्पको पुनःनिर्वाचनअघि अमेरिकामा पटक–पटक यात्रा गरेका थिए। तर, सन् २०२४ को अन्त्यदेखि ट्रस्कट र उनको परिवारले अमेरिकाको यात्रा बहिष्कार गर्ने निर्णय गरे। यसै निर्णयका कारण उनीहरूले गत वसन्त ऋतुमा टेक्सस गएर 'स्पेसएक्स स्टारशिप' को प्रक्षेपण हेर्ने हजारौँ डलर बजेटको योजना रद्द गरे। 

त्यो पैसा उनीहरूले क्यानडाकै एट्लान्टिक प्रान्तहरू—नोभा स्कोसिया र प्रिन्स एडवर्ड आइल्यान्ड मा खर्च गरे। त्यहाँ उनीहरूले 'क्याबोट ट्रेल' मा पदयात्रा गरे र महिलाहरूद्वारा सञ्चालित रिसोर्टमा बसे।

ट्रस्कटले ट्रम्पको आप्रवासी विरोधी छापा, क्यानडा विरोधी अभिव्यक्ति र नीतिहरूप्रति असहमति जनाउँदै दुई देशबीचको सम्बन्धमा ठूलो खाडल आएको बताएका छन्।

​​​​​​ अमेरिकामा १९ वर्ष बसेको दम्पतीले पनि यात्रा रद्द गर्यो
लिन्डा रुसो र उनका पति जो करिब १९ वर्ष टेक्सासमा बसेका थिए। उनीहरू अवकाशपछि क्यानडाको आफ्नो घर फर्किने योजना बनाइरहेका थिए। उनीहरूको फिर्ती सन् २०२५ को गर्मीयाममा हुने तय थियो, तर ट्रम्प पुनः निर्वाचित भएपछि उत्पन्न असन्तुष्टिका कारण उनीहरू निर्धारित समयभन्दा चाँडै, फेब्रुअरी २०२५ मै क्यानडा फर्किए।

ट्रम्पले क्यानडालाई '५१ औँ राज्य' र पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोलाई 'गभर्नर' भनेर टिप्पणी गरेपछि उनीहरूले अमेरिका पूर्ण रूपमा बहिष्कार गरे। उनीहरूले न्युयोर्क शहरबाट सुरु भई पनामा नहर जाने भनिएको क्रुज यात्रा रद्द गरेर इटालीको रोम र स्पेनको बार्सिलोना जाने क्रुज बुक गरे। 

अमेरिका र क्यानडा दुवैको नागरिकता भएका उनीहरूले जाडो याममा अमेरिकाका तातो प्रान्तहरू (फ्लोरिडा, एरिजोना) जाने 'स्नोबर्ड' परम्परा पनि त्यागेका छन्। 

अहिले उनीहरू कहिलेकाहीँ आफ्नो हुलाक लिन मात्र अमेरिका जाने र त्यसपछि फर्कने गरेका छन्। उनीहरूले त्यहाँ पैसा खर्च नगर्ने प्रयास गरिरहेका छन्।

रुसोका लागि अमेरिका बहिष्कारको एउटा कठिन पक्ष भनेको दुई देशबीचको भौगोलिक निकटताले दिएको सहजता गुमाउनु हो। क्यानडाबाट गाडी चलाएर अमेरिका जान धेरै सजिलो र धेरै अन्तर्राष्ट्रिय गन्तव्यको तुलनामा सस्तो पनि हुने भएकाले त्यो सुविधा गुमाउनु दुःखद भएको उनले बताइन्।

तर बहिष्कारकै कारण आफूमा 'क्यानडाप्रति अलि बढी गर्व' उत्पन्न भएको उनको भनाइ छ।

ट्रम्पको पहिलो कार्यकालदेखि नै अमेरिका नजाने भ्यानकुभरका अवकाशप्राप्त नागरिक
भ्यानकुभरका अवकाशप्राप्त नागरिक निक स्मिथ भने ट्रम्पका समर्थक कहिल्यै थिएनन्। सन् २०१६ मा ट्रम्प पहिलोपटक राष्ट्रपति बन्दा नै स्मिथले सियाटल र अमेरिकी राष्ट्रिय निकुञ्जहरूको सडक यात्रा बन्द गरेका थिए। जो बाइडेनको कार्यकालमा यात्रा पुनः सुरु गरे पनि ट्रम्पको फिर्तीपछि उनले फेरि अमेरिका बहिष्कार गरेका छन्। उनले अन्य देश जाने क्रममा अमेरिकी सहरहरूमा विमान परिवर्तन गर्नुपर्ने यात्रासमेत त्यागेका छन्।

गत शरद ऋतुमा उनी र उनका साथीहरू मेक्सिको सिटी गएका थिए। भ्यानकुभरबाट अमेरिकी सहर हुँदै जाने उडानको सट्टा उनीहरूले सिधै मेक्सिको सिटी जाने विमान रोजे। उनले हालै श्रीमती सिभियासँग मोरक्कोको भ्रमण गरे, जहाँ उनीहरूले रमजानको महिनामा मुस्लिम संस्कृति र उपवासको अनुभव लिए।

मोरक्कोमा रमजानको समयमा पुगेको अनुभव उनीहरूको यात्राको मनपर्ने क्षणमध्ये एक बन्यो। स्मिथले त्यहाँ धर्म मानिसहरूको जीवनमा कति महत्वपूर्ण छ र उपवासलाई उनीहरूले कति गम्भीरतापूर्वक लिन्छन् भन्ने अनुभव गर्न पाएको बताए। क्यानडामा आफूहरूले त्यस्तो अनुभव नगरेको उनको भनाइ थियो।

ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि आफू फेरि अमेरिका जाने हो कि होइन भन्ने प्रश्नमा स्मिथले केवल राष्ट्रपति परिवर्तनले मात्र पर्याप्त नहुने बताए।

उनका अनुसार क्यानडासँग पुनः मेलमिलाप भएको देखिनुपर्नेछ र दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध फर्किएको प्रमाणित गर्ने व्यवहार तथा कदमहरू देखिनुपर्नेछ।

लस भेगसको सट्टा स्पेनको ७९० किलोमिटर पैदल यात्रा
ब्रिटिश कोलम्बियाको पावेल रिभरकी ५० वर्षीया क्रिस्टी मिचेलले जीवनमा धेरैपटक अमेरिका यात्रा गरेकी थिइन्। उनले अमेरिकी राष्ट्रिय निकुञ्जहरूमा पदयात्रा गरेकी छन्, अमेरिकी फुटबल खेल हेरेकी छन् र आरभी चलाएर विभिन्न अमेरिकी राज्य हुँदै फ्लोरिडासम्म यात्रा गरेकी छन्। 

कुनै समय भिसा वा पासपोर्टबिनै सिमाना पार गर्न सकिने र दुवै देशलाई एउटै मान्ने वातावरण रहेको स्मरण गर्दै उनले अहिले त्यो आत्मीयता समाप्त भएको बताइन्। उनले आफ्नो ५० औँ जन्मदिन मनाउन लस भेगास जाने योजना रद्द गरेर स्पेनमा ४९० माइल (७९० किमी) लामो 'क्यामिनो फ्रान्सिस' पदमार्गको यात्रा पूरा गरिन्। मिचेलले अमेरिकी नीतिलाई आफ्नो खरिद शक्तिमार्फत समर्थन गर्न नचाहेको बताइन्। यद्यपि उनी अमेरिकी जनता र अमेरिकालाई माया गर्ने बताउँछिन्।

मिचेल भने भविष्यमा अमेरिका फर्किन खुला छिन्। तर त्यसका लागि अमेरिकामा अर्को राष्ट्रपति आउनु र क्यानडासँगको सम्बन्ध पुनः सुधारिनु आवश्यक हुने उनको भनाइ छ।

स्मिथका लागि पनि केवल ट्रम्पको ह्वाइट हाउसबाट बाहिरिनु पर्याप्त छैन। उनी क्यानडा र अमेरिकाबीच वास्तविक मेलमिलाप र मैत्रीपूर्ण सम्बन्ध फर्किएको देख्न चाहन्छन्।

व्यापक आर्थिक घाटा 
क्यानडाली नागरिकको अमेरिका बहिष्कारले अमेरिकी पर्यटन उद्योगमा आर्थिक प्रभाव परेको छ। राष्ट्रिय तथ्याङ्क अनुसार ट्रम्प निर्वाचित हुनुअघि (२०२४) को तुलनामा क्यानेडियनहरूले अमेरिकी यात्रामा उल्लेख्य कमी ल्याएका छन्।

गत वर्ष मात्रै क्यानेडियन पर्यटक नआउँदा अमेरिकाले करिब ३.३ अर्ब क्यानेडियन डलर (२.३५ अर्ब अमेरिकी डलर) बराबरको पर्यटन राजस्व गुमाएको छ। 

यो घाटाका कारण अमेरिकी शहर तथा राज्यहरूले क्यानेडियनहरूलाई फर्काउन विशेष विज्ञापन र छुट अभियानसमेत चलाउन थालेका छन्। न्युयोर्क शहरको पर्यटन बोर्डले जुलाईमा क्यानेडियन पर्यटकहरूका लागि ब्रडवे टिकट र होटलको कोठामा ३० प्रतिशत छुटको घोषणा गरेको थियो। 

ट्रम्पको क्यानडाप्रतिको नीतिका अलावा कमजोर बन्दै गएको क्यानेडियन डलरका कारण पनि अमेरिका भ्रमण महँगो बनेको छ। यद्यपि, धेरै क्यानेडियनहरूले अमेरिका फर्कनका लागि ट्रम्प हटेर मात्र नपुग्ने र क्यानडासँगको सम्बन्धमा सुधार तथा मेलमिलापको स्पष्ट पहल हुनुपर्ने शर्त राखेका छन्।

(बीबीसीमा प्रकाशित समाचारको नेपाली अनुवाद) 

साउन ३०, २०८३ शनिबार १६:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।