‘स्ट्रेट अफ होर्मुज’लाई छिट्टै अमेरिकाको भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

‘स्ट्रेट अफ होर्मुज’लाई छिट्टै अमेरिकाको भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी संघर्षका बीच रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’लाई भविष्यमा अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका छन्।

न्युयोर्कमा आयोजित एक कार्यक्रमका क्रममा ट्रम्पले ईरान युद्धमा 'धेरै नराम्रोसँग पराजित भइरहेको' दाबी गर्दै ईरानलाई 'पूर्ण रूपमा पराजित' गरेपछि आफूले छिट्टै स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्र घोषित गर्ने बताएका हुन्।

ट्रम्पले अमेरिकाको सो क्षेत्रमा पूर्ण नियन्त्रण रहेको र युद्ध पछि रणनीतिक जलमार्गलाई अमेरिकी भूभाग बनाइने दाबी दोहोर्याएका हुन्।

उनले यसबारे कुनै विस्तृत कानुनी वा प्रशासनिक योजना भने सार्वजनिक गरेका छैनन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार हाल अमेरिकासँग उक्त जलमार्गमाथि औपचारिक सार्वभौम अधिकार छैन।

ट्रम्पले यसअघि पनि स्ट्रेट अफ होर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गर्दै आएका छन्। शुक्रबारको कार्यक्रममा उनले अमेरिकी नाकाबन्दीका कारण आफूहरूको अनुमति बिना कुनै पनि जहाज उक्त जलमार्गबाट पार हुन नसक्ने दाबीसमेत गरे। तर इरानले अमेरिकी नियन्त्रणसम्बन्धी यी दाबीलाई लगातार अस्वीकार गर्दै आएको छ।

ट्रम्पको पछिल्लो घोषणापछि इरानबाट तत्कालै कडा प्रतिक्रिया आएको छ। इरानी उपविदेशमन्त्री काजेम घारिबाबादीले स्ट्रेट अफ होर्मुजलाई कुनै सामाजिक सञ्जालको पोस्ट, विमानवाहक युद्धपोत, आदेश वा चुनावी भाषणबाट कब्जा गर्न नसकिने बताएका छन्।

उनले भनेका छन्:  "होर्मुज स्ट्रेट ऐतिहासिक रूपमा इरानी थियो, अहिले पनि इरानी छ र सधैं इरानी नै रहनेछ। यो जलमार्ग कुनै सामाजिक सञ्जालको पोस्ट (ट्विट), विमानवाहकतैरी जहाज वा चुनावी भाषणका आधारमा कब्जा गर्न सकिँदैन। यो जलमार्ग कहिले खोल्ने वा बन्द गर्ने भन्ने निर्णय केवल ईरानको आदेशमा मात्र हुनेछ।"

इरानले अमेरिकाको धम्कीबाट आफू नडराउनेसमेत स्पष्ट पारेको छ।​​​​​​​

​​​​​​​स्ट्रेट अफ होर्मुज विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वभर खपत हुने कुल तेल तथा एलएनजी आपूर्तिको लगभग २० प्रतिशत यही बाटो भएर ओसारपसार हुने गर्छ।

अमेरिका र ईरानबिच जारी सैन्य तनाव र नाकाबन्दीका कारण यस जलमार्गमा जहाजहरूको आवतजावत गम्भीर रूपमा प्रभावित भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय ऊर्जा बजार र इन्धन (पेट्रोल/डिजेल) को मूल्यमा भारी दबाब परेको छ।  

 

साउन ३०, २०८३ शनिबार १४:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।