कांग्रेस इतर पक्षको भेलाबाट शशांकको सन्देश : ‘पार्टीलाई एकजुट बनाउनु नै मुख्य उद्देश्य’

कांग्रेस इतर पक्षको भेलाबाट शशांकको सन्देश : ‘पार्टीलाई एकजुट बनाउनु नै मुख्य उद्देश्य’

काठमाडौं : नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक एकता कायम भएमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउन आफूले पहल गरिरहेको बताए। राष्ट्रिय भेलाको उद्देश्य पनि पार्टीलाई एकताबद्ध बनाउनु रहेको उनको भनाइ थियो।

"यो भेला किन आयोजना गर्नुपर्यो भने कांग्रेसलाई एकजुट बनाउनलाई हो। यो मेरो कर्तव्य हो। पार्टी एकजुट भएको खण्डमा कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो," उनले भने।

निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो सम्बन्ध र राजनीतिक यात्राबारे चर्चा गर्दै कोइरालाले तत्कालीन समयमा देउवा बनारस आउँदा आफूलाई घुमाउने जिम्मेवारी दिइएको स्मरण गरे।

आफूले देउवालाई के गर्न चाहनुहुन्छ भनेर सोध्दा उनले सिनेमा हेर्न इच्छा देखाएपछि त्यस दिन आफूहरू तीन वटा सिनेमा हेर्न गएको कोइरालाले स्मरण गरे। देउवा बेलायतमा रहेका बेला आफूले फोन गरेर नेपालमा परिवर्तन भइरहेको भन्दै उनले स्वदेश फर्किन आग्रह गरेको पनि स्मरण गरे। त्यसपछि देउवा नेपाल फर्किएको र पछि प्रधानमन्त्री बनेको उनले बताए।

"मलाई के लाग्छ भने शेरबहादुर देउवाजीको भाग्य राम्रो छ, आउने बित्तिकै प्रधानमन्त्री पनि बन्नुभयो," कोइरालाले भने। सबैको सहभागिताले आफू खुसी भएको बताउँदै उनले देउवा सहभागी भए भेला पूर्ण रूपमा सफल हुने दाबी गरे।

"सबै जना आउनुभयो, खुसी लाग्यो। त्रुटिहरू भए क्षमा गरिदिनुहोला। हामीले खाना पनि दिन सकेनौं, त्यसका लागि माफ गरिदिनुहोला। शेरबहादुर देउवा आउने बित्तिकै यो पूर्ण सफल हुन्छ," उनले भने।

साउन २९, २०८३ शुक्रबार १६:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।