‘ककाकिकी’को बल्ल खिचियो शीर्ष गीत : भदौ १९ मा आउला त?

‘ककाकिकी’को बल्ल खिचियो शीर्ष गीत : भदौ १९ मा आउला त?

काठमाडौं : आगामी भदौ १९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘ककाकिकी’को निर्माण पक्षले प्रदर्शनको २० दिनअघि मात्रै शीर्ष गीत (टाइटल सङ)को छायाङ्कन सक्कायो। 

‘कमेडी दरबार’का निर्देशक बिक्की अग्रवालको निर्देशनमा निर्माण भइरहेको फिल्मको उक्त गीत बुधबार काठमाडौंको जर्सिङ पौवामा फिल्मका मुख्य कलाकारहरूको उपस्थितिमा खिचियो।

अर्जुन सापकोटा र मेलिना राईको गायन गीतमाको भिडियोमा फिल्मका मुख्य कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायतले नाचेका छन्।

निर्माण पक्षका अनुसार गीतको भिडियोमा गायक सापकोटालाई पनि नचाइएको छ। उनीसँगै कमेडी दरबारकै कलाकार पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले पनि नृत्य गरेका छन्। यस गीतको भिडियोमा कोरियोग्राफी मिग्मा डि लेप्चाको छ।

पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा रहेको फिल्मको शीर्ष गीत यही साताको अन्तिमतिर सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ। फिल्मको अन्य काम पनि बाँकी नै रहेको चर्चा छ।

फिल्ममा अन्य कलाकारमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग,सुवर्ण थापा र कमल देवकोटालगायतले अभिनय गरेका छन्।

अभिनेत्री तृप्ति नाडकर यसै फिल्मबाट नेपाली फिल्ममा फर्किएकी छन्। यो फिल्मसँगै ‘एक बा : एक योद्धा’ पनि प्रदर्शनमा आउँदै छ। जसको चर्चा पनि उतिकै छ।  
 

साउन २८, २०८३ बिहीबार २२:४३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।