हल मालिक नकिमको लगानीमा छोराको डेब्यू, चार करोडको बजेटमा बन्दैछ हरर फिल्म 'भिडियोटप'

हल मालिक नकिमको लगानीमा छोराको डेब्यू, चार करोडको बजेटमा बन्दैछ हरर फिल्म 'भिडियोटप'

काठमाडौं : हाइप जतिसुकै भए पनि अधिकांश नेपाली हरर फिल्मले बक्स अफिसमा पानीसमेत भन्न पाएका छैनन्। ‘कठपुतली’ देखि ‘सुनकेशरी’ र ‘घर’सम्म आइपुग्दा यी फिल्मले दर्शकलाई हल्काफुल्का तर्साउन त सके, तर निर्माताको गोजी भर्न सकेनन्। 

बक्स अफिसमा अधिकांश हरर फिल्मले जादु देखाउन नसकेको अवस्थामा झण्डै चार करोडको ठूलो लगानीमा नयाँ हरर फिल्म ‘भिडियोटप’को घोषणा गरिएको छ। हल व्यवसायी तथा फिल्म वितरक नकिम उदिनको लगानीमा यो फिल्म बन्दैछ।

एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई नकिमकै छोरा ओविदले निर्देशन गर्दै छन्। मंगलबार ललितपुरको लाबिम मलमा पत्रकार सम्मेलनमा गर्दै निर्माण टिमले ओविद उद्दिनको निर्देशनमा यो फिल्म तयार हुने घोषणा गरियो। उनको यो डेब्यू निर्देशकीय फिल्म हो।

निर्माण पक्षले हरर जनराको यो फिल्मलाई कागबेनी खिचेकै ठाउँमा खिच्न लागेको हो। उपल्लो मुस्ताङमा भदौ ५ गतेबाट यो फिल्मलाई खिचिन लागेको निर्देशक ओविदले जानकारी दिए। उनका अनुसार यो फिल्मको सेड्युल ३० दिनको हुने छ।

फिल्मको बारेमा जानकारी दिँदै निर्देशक ओविदले आफूले सानैबाट हरर जनराको फिल्म हेरेको र आफूलाई यस्तै खालको कथामा फिल्म बनाउन मन लागेको बताए। उनले केही हलिउड बलिउडका हरर फिल्मको उदाहरण दिँदै आफूलाई कठपुतली नेपाली हरर जनराको फिल्म मन परेको सुनाए। 

उनले भने, "म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ। यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु।" उनले आफूले यो निर्माण गर्न लागेको हरर जनराको फिल्म काल्पनिक विषयमा आधारित रहेको बताए। 

उनी भन्छन्, "कुनै पनि वास्तविक घटनासँग मिल्दैन।" यो फिल्ममा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ। 

फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईँ, सिद्धार्थ सिंह लगायतका कलाकारहरूको पनि मुख्य भूमिका रहनेछ। पत्रकार सम्मेलनमा उपासनालाई भूतदेखि कतिको डर लाग्छ भन्ने प्रश्न गरिएको थियो। उनले पत्रकारको जवाफमा ‘नेगेटिभ इनर्जीको विश्वास लाग्ने र डर लाग्ने गरेको सुनाइन्।

एक महिनादेखि यो फिल्मको वर्कसपमा रहेकी अभिनेत्री ठकुरीले फिल्मलाई लिएर उत्साहित रहेको सुनाइन्। "एक वर्ष अगाडिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो," उनले कथाका बारेमा सुनाउँदै भनिन्, "कथावस्तु निकै नै राम्रो छ। अब हामी फिल्मको छायांकनमा जाँदैछौं। एकदमै उत्साहित छु।"

फिल्मका निर्माता नकिम उदिनले छोरालाई आफूले मलेसिया र अमेरिका अरू नै विषयमा पढाउन लगेको तर उसले फिल्म लाइनमै इन्ट्रेस देखाएको बताए। "बच्चाबाट नै यसले फिल्म खिच्ने, इडिटिङ गर्थ्यो," उनले भने, "पढाउनका लागि मलेसिया लगे। उतैबाट आयो। अमेरिका लगेर घुमाए,उतै पढाए। तर त्यहाँबाट पनि त्यसै गर्यो। सानोबाट फिल्ममा इन्ट्रेस देखाएको ठुलो हुँदा पनि बिर्सेन।"

छोरा फिल्म लाइनमा आएको उनलाई खासै मन परेको रहिनछ। तर छोराको चाहानालाई मर्न नदिन उनी फिल्ममा लगानी गर्न लागेको बुझियो। वशिष्ट प्रधानको डीओपी रहने यो फिल्मको प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेले समाल्दै छन्। महेश बरालको मुख्य सहायक निर्देशन रहने यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट अर्थात् नकिम उदिनकै ब्यानरमा निर्माण हुन लागेको हो। 

साउन २६, २०८३ मंगलबार २२:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।