'साम्राज्य'बाट फर्किएला त 'लुट'को क्रेज?

'साम्राज्य'बाट फर्किएला त 'लुट'को क्रेज?

काठमाडौं : नेपाली दर्शकले दुई चर्चित अभिनेता दयाहाङ राई र सौगात मल्ललाई एकैसाथ फिल्ममा नदेखेको निकै समय भइसक्यो। पछिल्लो समय उनीहरू छुट्टाछुट्टै प्रोजेक्टमा व्यस्त रहे।

लुट, कबड्डी शृङ्खला, दुई नम्बरी, हात्तीछाप, पीताम्बर र पछिल्लो समय प्रदर्शनमा आएको फिल्म हो मितज्यू। यसमा अधिकांश फिल्मले व्यावसायिक सफलता हात पारेका छन्।

‘हात्तीछाप’, ‘पीताम्बर’ र पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘मितज्यू’ले व्यावसायिक रूपमा असफल रहे। उनीहरूको लागि यो फिल्मको कथा नसुहाए चर्चा चलेको थियो।

दया र सौगातको जोडीलाई दर्शकले फेरि एक पटक अर्को फिल्ममा पनि हेर्न पाउने भएका छन्। सौरभ चौधरीको निर्देशनमा बन्न लागेको ड्रामा एक्सन फिल्म ‘द राइज अफ साम्राज्य’मा दया र सौगातको मुख्य भूमिका रहने छ। 

मंगलबार फिल्मका निर्देशक तथा निर्माताले यो फिल्मको मुख्य भूमिकामा नै दयाहाङलाई अनुबन्ध गरेपछि दुवैको यस फिल्ममा अभिनय रहने पक्का भएको हो। किनभने यसअघि सौगात मल्ललाई निर्माण टिमले अनुबन्ध गरेको थियो। 

दया र सौगातको यस फिल्ममा प्रवेश भएपछि अब हिरोइन को हुन्छन् भन्ने चर्चा चल्न थालेको छ। तर निर्माण पक्षले हिरोइनको बारेमा कुरा बाहिर ल्याएको छैन। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म मल्टीस्टार बन्ने पनि निश्चित भएको छ। 

उपन्यासकार बुद्धिसागरले कथा र पटकथामा निर्माण हुन लागेको यो फिल्मलाई आगामी भदौ पहिलो साताबाट खिच्न थालिने निर्माण पक्षको भनाई छ। ७० दिनको छायांकन तालिका तयार पारेको यस फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा हुने निर्देशक चौधरीले बताए।

प्रवेश चौधरी र निला देव निर्मातामा रहेको यो फिल्मका को-प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्। मानकृष्ण महर्जनको डीओपी रहने यो एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन्। डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको यो फिल्मको वितरकमा डिसीएन रहेको छ।

साउन २६, २०८३ मंगलबार २२:०२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।