मदनकृष्णको बायोपिकमा महेश, केकीपछि जोडिए अरुण र वर्षा
काठमाडौं : हास्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश भएको छ। उनलाई हालै फिल्मका निर्देशक मिलन चाम्सको टिमले फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेको हो।
निर्देशक चाम्सका अनुसार वर्षालाई मदनकृष्णका सहकर्मी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा अनुबन्ध गराएको हो। मदनकृष्णको भूमिकामा महेश त्रिपाठी, उनको श्रीमतीको भूमिकामा केकी अधिकारी यसअघि नै अनुबन्ध भइसकेका छन्।
हरिवंशको भूमिकामा अरुण क्षेत्रीले अभिनय गर्दै छन् भने उनको अपोटिजमा अब वर्षाले अभिनय गर्ने पक्का भएको हो।
उकेरासँगको कुराकानीमा वर्षाले आफू फिल्म ‘म मदनकृष्ण’ जोडिएको बताइन्। वर्षाले भनिन्, "म फिल्ममा काम गर्ने पक्का भइसकेको हो।"
उनी थप बोल्ने मुडमा देखिइन्। उनले आफू फिल्ममा काम गर्नका लागि अनुबन्ध भएको मात्रै जानकारी दिइन्। निर्देशक मिलन चाम्सका अनुसार उनी यो फिल्ममा हरिवंशको दोस्रो श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्दै छिन्। हरिवंशको भूमिकामा भने अरुण क्षेत्रीलाई निर्माण पक्षले केही दिनअघि अनुबन्ध गरेको थियो।
यहीँ फिल्मबाट वर्षा र अरुण पहिलो पटक सहकार्य गर्न लागेका हुन्। यता मदनकृष्णकै भूमिकामा महेश त्रिपाठी देखिँदै छन् भने उनको जीवनसंगीनी यशोदाको भूमिकामा केकी अधिकारी रहने एक महिनाअघि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा मदनकृष्णका सहकर्मीहरूको पनि अभिनय रहनेछ। महेश त्रिपाठी,केकी अधिकारी, अरुष क्षेत्री, वर्षा राउतका अलावा मदनकृष्णका सहकर्मी राजाराम पौडेल,किरण केसीको पनि अभिनय रहने छ।
साथै यस फिल्ममा रुषा न्यौपाने,देशभक्त खनालका साथै मदनकृष्णकै छोरा यमनको पनि अभिनय रहनेछ। वर्षा राउत यो फिल्ममा जोडिएसँगै अब कलाकारहरूको लाइनअप पुरा भइसकेको छे। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्न लागेका हुन्।
यसअघि निर्देशक मिलन चाम्सले राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक फिल्म ‘अञ्जिला’निर्माण गरेका थिए। जुन फिल्मले ११ करोडभन्दा माथिको कमाई गरेको थियो।
साउन २६, २०८३ मंगलबार १५:४८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।