‘मेरी दिदी’ गीत सुन्दै हलको कुनामा भक्कानिइन् नीता ढुङ्गाना
काठमाडौं : फिल्मको प्रचारप्रसारका क्रममा निर्माता, निर्देशक वा कलाकार क्यामेरा अगाडि भावुक हुनु अब नौलो विषय रहेन। कतिपय अवस्थामा अब फिल्म चलाउनका लागि गरिने स्टन्टका रूपमा समेत यस्ता दृश्यलाई लिने गरिन्छ।
धरधरी रोएपछि फिल्म चल्छ भन्ने बुझाई केही कलाकारहरूमा गहिरो गरी रहेको देखिन्छ पनि। एक अभिनेत्री फिल्म चलाउनकै लागि हलभित्रै रोएको भन्ने गसिप चलेको थियो। प्रचारको क्रममा क्यामेराको अगाडि कलाकारहरु भावुक बनेको र रोएका भिडियो अझै सामाजिक सञ्जालहरूमा भेट्न सकिन्छ।
फिल्मको प्रचारका क्रममा दर्शकको ध्यान आफूतिर तान्न अनेकन् शैली अपनाउने होडबाजी फिल्म वृत्तमा भइरहन्छन्। अहिले आफै टिकट किनेर हलमा फिल्म चलिरहेको सन्देश दिइन खोजिरहेको विषय चर्चामा छ। सोमबार पनि एक दृश्य विशेष देखियो।
अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘पार्वती’को एक गीत ‘मेरी दिदी’ लाइभ गाएर उपस्थित मिडियाकर्मीलाई सुनाइयो। यहीँ गीतका गायक तथा संगीतका अशोक दर्जी र बाबुल गिरी उक्त गीत गाएर सुनाएका थिए। उनीहरूले यो गीत गाउँदै गर्दा फिल्म हलको कुनामा बसेकी नीता ढुङ्गाना धरधरी रोइ रहेकी देखिन्थिन्।
उनलाई गीतको भाव र संगीतले मज्जैले छोएको देखिन्थ्यो। उनी कुनामा बसेर रोएको केही क्यामेरा बाहेक कसैले देखेनन्। उनी आफ्नो आँसु बेच्न नचाहेको देखिन्थ्यो। उपस्थित भएका मिडियाकर्मीले अशोक र बाबुलको गायनलाई खिचिरहेका थिए। जुन दृश्यमा कारुणिक देखिन्थ्यो। सायद नीतालाई गीतको भाव, शब्द तथा संगीतले छोएको हुनुपर्छ।
चाडपर्वको समयमा दिदीभाईको मायालाई शब्दलाई बुनिएको ‘मेरी दिदी’ बोलको गीतले दर्शकलाई छुन्छ कि छुँदैन ? त्यो भने आगामी भदौ १२ गतेबाट नै थाहा हुनेछ। किनभने यो फिल्म सोही दिनबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ।
नीता ढुङ्गानाकै निर्देशनमा निर्माण भएको यो फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र गायक अशोक दर्जी नै छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।
साउन २६, २०८३ मंगलबार १५:२२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।