‘सुपर कमेडी लिग’मा ‘प्रेसिडेन्ट’को भूमिकामा राजेश हमाल, अरु को-को जोडिए ?
काठमाडौं : हलमा फिल्म हेर्ने दर्शकको रुचि फेरिएसँगै कलाकारहरू पनि आफ्नो उपस्थिति जोगाउन नयाँ-नयाँ माध्यमको खोजीमा लाग्नु स्वाभाविकै हो। नेपाली पर्दामा लामो समय राज गरेका अभिनेता राजेश हमाल पनि यतिबेला यस्तै अवस्थामा देखिन्छन्।
लामो समयको अन्तरालपछि उनले कमब्याक गरेको फिल्म ‘नरसिंहा : अवतार’ले व्यावसायिक रूपमा सोचेजस्तो सफलता पाउन सकेनन्। बक्स अफिसमा एक लाख हाराहारी व्यापार गरेको फिल्म 'प्रवासी जीवन' उनको करिअरकै कमजोर फिल्म बन्यो। पछिल्लो यही पृष्ठभूमिमा उनी अब फिल्मबाट मोडिएर रियालिटी शोतर्फ लागेका छन्।
राजेश हमाल अब नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’मा 'प्रेसिडेन्ट'को भूमिकामा देखिँदै छन्। आइतबार ललितपुरको चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे औपचारिक घोषणा गरियो।
त्यस्तै अभिनयमा अब्बल तर व्यावसायिक सफलतामा भने पछिल्ला फिल्महरू कमजोर देखिएपछि अभिनेत्री सुरक्षा पन्त पनि छ शोमा जोडिएकी छन्। उनका पछिल्लो फिल्म ‘खेल’ होस् या अरू। उनको फिल्म हलमा लागेको र उत्रिएको पत्तै हुँदैन। उनी अभिनीत फिल्म ‘चमेलीको पोइ’प्रदर्शनको तयारीमा छन्।
‘सुपर कमेडी लिग’मा राजेश र सुरक्षाका अलावा विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा पनि रहेका छन्। त्यसमा र विल्सन, लुनिभा, रवीन्द्र र सुरक्षा क्याप्टेन तथा मेन्टरका रूपमा रहने आयोजकले जानकारी दिएका छन्।
ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त कार्यक्रमको देशका पाँच शहरमा अडिसन गरिने आयोजकले जनाएको छ। उनीहरूका अनुसार २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढ स्थित राइनो वाटर होटेल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरा स्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौंमा अडिसन सञ्चालन हुनेछ।
अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनहरूले गर्नेछन्। अडिसनमा सहभागी हुन नपाएका र नेपालबाहिर रहेका नेपाली भाषी इच्छुक प्रतिभाहरूले डिजिटल अडिसनमार्फत आफ्नो भिडियो सामग्री पठाएर पनि सहभागी हुन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा + कमेडी) लगायतका शैलीमा प्रस्तुति तयार गरिनेछ। कार्यक्रमको उद्देश्य परम्परागत रूपमा कमेडियन खोज्नु मात्र नभई कमेडी एक्टमा प्रस्तुति गर्न सक्ने उत्कृष्ट एक्टरको खोजी गर्नु रहेको आयोजकको भनाई छ।
शो'का निर्देशक एलिन श्रेष्ठ हुन्। उनले यसअघि नेपाली टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशनमा दुई दशकभन्दा लामो समय अनुभव बटुलेका छन्। साथै नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशन श्रेष्ठले गरेका थिए।
उनका अनुसार सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुनेछ। जसमा एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सोभन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिन पाउनेछन्।
साउन २५, २०८३ सोमबार २०:१३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।