फिल्म टक्सिकको ट्रेलरमा दोहोरो भूमिकामा देखिए यश

फिल्म टक्सिकको ट्रेलरमा दोहोरो भूमिकामा देखिए यश

एजेन्सी : दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म 'टक्सिक: अ फेयरी टेल फर ग्रोन-अप्स' को ट्रेलर सार्वजनिक भएको छ।

गीतू मोहनदासको निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता यशले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन्। पौने पाँच मिनेट लामो ट्रेलरमा यशलाई देखाइएको फरक अवतारले दर्शकमा निकै कौतुहलता पैदा गरेको छ।

पिरियड ग्याङ्गस्टर ड्रामा भनिएको फिल्ममा यशका साथै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्तको अभिनय रहेको छ।

फिल्मको ट्रेलरमा तीव्र एक्सन र हिंसात्मक दृश्यहरूलाई प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजर र गीतका आधारमा फिल्ममा 'बोल्डनेस' बढी हुने अनुमान गरिए पनि ट्रेलरमा भने एक्सनलाई बढी स्थान दिइएको छ। फिल्म आगामी अगस्ट २६ देखि विश्वभर प्रदर्शनमा आउँदै छ।

ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू व्यक्त भइरहेका छन्। धेरैले यशको नयाँ अवतारलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका छन् भने केहीले हिंसालाई अत्यधिक स्थान दिएको भनेर प्रश्न समेत उठाएका छन्।

हिंसात्मक दृश्यकै कारण फिल्म टक्सिकलाई बलिउड अभिनेता रणवीर कपुरको फिल्म 'एनिमल'सँग तुलना गरिरहेका छन्। उनीहरू दुवै जना 'रामायण'मा सँगै देखिँदै छन्, जहाँ यशले 'रावण' र रणवीरले 'राम' को भूमिका निर्वाह गरेका छन्।

साउन २४, २०८३ आइतबार १४:१०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।