बुद्धिसागरको १५ महिनाको मेहनत ‘द राइज अफ साम्राज्य’: भिन्नाभिन्नै अवतारमा देखिँदै सौगात

बुद्धिसागरको १५ महिनाको मेहनत ‘द राइज अफ साम्राज्य’: भिन्नाभिन्नै अवतारमा देखिँदै सौगात

काठमाडौं : फिल्मको व्यावसायिक सफलता र कलाकारको व्यस्तता सधैँ एउटै लयमा चल्दैनन्। कहिलेकाहीँ फिल्मले बक्स अफिसमा अपेक्षित नतिजा नदिए पनि कलाकारको कामले भने प्रशंसा पाइरहन्छ। 

अभिनेता सौगात मल्लको हकमा पनि यही लागू भएको देखिन्छ। पछिल्लो समय उनी अभिनीत ‘भाइरल गोर्खे’, ‘परालको आगो’ र ‘मितज्यू’ले व्यावसायिक सफलता नपाए पनि सौगातको व्यस्ततामा भने कुनै कमी आएको छैन।

‘परालको आगो’मा उनले निभाएको छिमेकीको भूमिकालाई दर्शकले मन पराएका थिए। उनको मिहिनेत र चरित्रमा भिज्न सक्ने अभिनय क्षमताको कारण उनी निर्माता-निर्देशकको रोजाइमा परिरहन्छन्। हालै फिल्म ‘जुवा’को छायांकन सकाएका सौगात अब निर्देशक सौरभ चौधरीको नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’मा अनुबन्धित भएका छन्।

यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सहकार्य गरिसकेका सौगात र सौरभको यो दोस्रो सहकार्य हो। निर्देशक चौधरीले फिल्मको पात्रका लागि सौगात नै उपयुक्त भएकाले उनलाई पहिलो कलाकारका रूपमा भित्र्याइएको बताए। 

उनी भन्छन्, "फिल्मको कथाले मागेको हुँदा मैले सौगात मल्ललाई लिएको हो। फिल्ममा एक्सन मात्रै नभएर ड्रामाको पाटो बढी छ। त्यस कारण यो कथाले सौगातलाई नै मागेको हो। यो कथाको माग हो। सौगात बाहेक अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ। केही दिनमा फाइनल गछौं।"

फिल्ममा सौगातले २५ वर्षको युवकदेखि ८० वर्षको वृद्धसम्मको भूमिका निर्वाह गर्दैछन्। अभिनय क्षमताको तारिफ गर्दै सौगातको तस्बिर सेयर सौरभले लेखेका छन्, "केही कलाकारहरूले पात्र निभाउँछन्। तर केही कलाकारहरूले पात्रलाई अमर बनाइदिन्छन्।"

फिल्मको अर्को बलियो पक्ष कथा तथा पटकथा हो। निर्देशक सौरभका अनुसार उपन्यासकार बुद्धिसागरले १५ महिना लगाएर फिल्मको कथा तथा पटकथा लेखेका हुन्। "फिल्म अगत्स्य : च्याप्टर १ र कर्मामा गरिएका गल्तीलाई स्वीकार गर्दै यो फिल्मको कथा तथा पटकथामा मेहनत गरेका छौं," उनले भने, "यसैको लागि हामीले १५ महिना समय खर्चिएका छौं। दर्शकले पक्कै नयाँपन यो फिल्ममा पाउनुहुनेछ।"

निर्माण पक्षले सार्वजनिक गरेको थिम पोस्टरमा आगोको लप्का, घोडामा सवार मानिस र ऐतिहासिक राजर्सी कालखण्डका पात्रहरू देखाइएको छ, जसले फिल्मलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा संकेत गर्छ। ठूलो क्यानभासमा खिच्ने योजना रहेको यस फिल्मको छायांकन भदौ पहिलो सातादेखि पूर्वी नेपालमा सुरु हुनेछ। 

करिब ७० दिनको छायांकन तालिका तय गरिएको फिल्मको निर्माताका रूपमा प्रवेश चौधरी र निला देव रहेका छन्। फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने सह-निर्माता विश्वास बस्नेत (बेन) रहेका छन्। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मलाई डिसीएनले वितरण गर्नेछ। डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल छ।

साउन २३, २०८३ शनिबार १९:३२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।