भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

एजेन्सी : उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको क्षेत्रमा भएको जनाइएको छ। यात्रुबहाक बसमा दुर्घटनाको समयमा  १८ जना सवार रहेको बताइएको छ।

दुर्घटनाको यकिन कारणबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। यसैबीच, प्रदेशभर जारी भारी मनसुनी वर्षाका कारण जनजीवन तीव्र रूपमा प्रभावित भएको छ। राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार शनिबार बिहानसम्म वर्षा र पहिरोका कारण १८५ वटा सडक पूर्ण रूपमा बन्द भएका छन्। 

सडक अवरोधका हिसाबले सबैभन्दा बढी प्रभावित मन्डी जिल्ला भएको छ, जहाँ ९२ वटा सडक ठप्प छन्। यसैगरी कुल्लूमा ४८, चम्बा र शिमलामा १४–१४, सिरमौरमा ९, काँगडामा ५ र उना जिल्लामा ३ वटा सडक अवरुद्ध भएका छन्। वर्षाका कारण सडकसँगै खानेपानी र विद्युत् सेवा पनि अस्तव्यस्त बनेको छ।

प्रदेशभर ७७ वटा खानेपानी आयोजना र १०४ वटा विद्युत् ट्रान्सफर्मर अवरुद्ध भएका छन्। गत जुन ३० मा मनसुन भित्रिएयता हिमाचल प्रदेशमा विभिन्न घटनामा परी १४३ जनाको मृत्यु भइसकेको छ। ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो।

 राज्य सरकारका अनुसार हालसम्मको वर्षा र बाढीपहिरोले प्रदेशमा ८ सय ३४ करोड भारु बराबरको भौतिक क्षति पुर्याइसकेको छ। मौसम विज्ञान विभागले आगामी अगस्ट १४ सम्म प्रदेशमा वर्षा जारी रहने पूर्वानुमान रहेको बताउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।  

साउन २३, २०८३ शनिबार १६:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।