सवारी दुर्घटनामा दैनिक औसत सात जनाको मृत्यु, दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारी धेरै
काठमाडौं : गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा सवारी दुर्घटनामा परी औसतमा दैनिक सात जनाले ज्यान गुमाउने गरेको एक तथ्यांकले देखाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा दुई हजार ६०७ जनाको सडक दुर्घटनामा परि मृत्यु भयो।
प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा दुर्घटना र मृत्युदर दुवै बढेको छ। अघिल्लो वर्ष २० हजार ६९९ दुर्घटनामा दुई हजार ५४९ जनाको मृत्यु भएकोमा गत वर्ष दुर्घटनाको संख्या २९ हजार ९८८ पुगेको छ।
यी दुर्घटनाहरूमा ३९ हजार ७४९ जना गम्भीर घाइते र २७ हजार २८३ जना साधारण घाइते भएको प्रहरीको तथ्यांकले देखाएको छ।
दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा
तथ्याङ्कअनुसार सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) दुर्घटनामा परेका छन्। गत वर्ष २६ हजार ४२४ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ।
यसैगरी, छ हजार १७१ कार/जिप, तीन हजार ११६ टेम्पो र दुई हजार ५५४ वटा सरकारी सवारी साधन दुर्घटनामा परेका छन्।
अन्य सवारी साधनतर्फ एक हजार ७८२ ट्रक/ट्याङ्कर, एक हजार १२८ ट्रयाक्टर, ८०६ माइक्रो र ५०६ वटा टिपर दुर्घटनामा परेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
साउन २२, २०८३ शुक्रबार २३:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।