अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने नियममा ट्रम्पको नयाँ आदेश

अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने नियममा ट्रम्पको नयाँ आदेश

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाइने व्यवस्थालाई थप कडा बनाउन नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

विशेषगरी, पर्यटक भिसामा अमेरिका घुम्न गएर त्यहीँ बच्चा जन्माउने र बच्चालाई अमेरिकी नागरिक बनाउने अभ्यासलाई रोक्न ट्रम्पले यो कदम चालेका हुन्।

यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकामा गैरकानूनी रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकका बालबालिकालाई नागरिकता नदिने नियम ल्याउन खोजेको थियो।

तर, अमेरिकी सर्वोच्च अदालतले उक्त निर्णयलाई संविधानविपरीत भन्दै कार्यान्वयनमा रोक लगाइदिएको थियो। अदालतको रोकपछि ट्रम्पले अलि फरक र नयाँ स्वरूपमा यो नीति ल्याएका हुन्।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको नियमको दुरुपयोग भइरहेको र धेरै मानिसले यसलाई मजाक बनाएको बताए। अदालतको अघिल्लो निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै उनले अब कानूनी दायराभित्रै रहेर नियम कडा बनाइने बताए।

नयाँ नियममा के छ?
ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार यो नयाँ आदेशको मुख्य उद्देश्य नागरिकता पाउने दायरालाई साँघुरो बनाउनु हो।

नयाँ नियमअनुसार विदेशी आतङ्कवादी सङ्गठनसँग जोडिएका व्यक्तिका सन्तान र विदेशी सरकारका लागि काम गर्ने वा लबिङ गर्ने व्यक्तिका सन्तानले अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने छैनन्।

अमेरिकी संविधानको १४औं संशोधनमा अमेरिकी भूमिमा जन्मिएका प्रायः सबै बालबालिकाले स्वतः नागरिकता पाउने व्यवस्था छ।

तर, ट्रम्प प्रशासनको तर्क भने अर्कै छ। उनीहरूका अनुसार यो संवैधानिक व्यवस्था सन् १८६० को दशकमा दासत्वबाट मुक्त भएका मानिसहरूलाई नागरिकता दिन ल्याइएको थियो।

त्यसैले, पर्यटकका रूपमा आएका वा गैरकानूनी रूपमा अमेरिका बसेका विदेशीका सन्तानलाई यो सुविधा दिनु संविधानको मूल मर्मविपरीत हुने ट्रम्प प्रशासनको भनाइ छ।

राष्ट्रपति ट्रम्पको यो पछिल्लो कदमलाई अमेरिकामा गैरकानूनी आप्रवासीहरूलाई कडाइ गर्ने उनको नीतिकै एउटा भागका रूपमा हेरिएको छ।

साउन २२, २०८३ शुक्रबार १२:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।