गीतमा आफ्नो नाच हेरेपछि जितु नेपालले भने, ‘अब कमेडीमै फर्किन्छु’
काठमाडौं : जितु नेपाल वास्तविक नामभन्दा पनि जिरे खोर्सानीको 'मुन्द्रे' क्यारेक्टरबाट बढी चिनिन्छन्। झण्डै दुई दशकअघि 'चङ्खे'देखि सुरु भएको जितुको अभिनय यात्रालाई हास्य टेलिश्रृंखला ‘ट्वाक्क टुक्क’ हुँदै आफैँले निर्माण गरेको चर्चित ‘जिरे खोर्सानी’सम्म आइपुग्दा एउटा छुट्टै र बलियो पहिचानको उचाइमा पुर्यायो।
टेलिश्रृंखला जति चर्चामा रहे, त्यसले जितुलाई पनि हास्य कलाकारको रूपमा बलियो गरी उभ्यायो। एक दशकअघि नेपाल टेलिभिजनबाट नै प्रसारण हुने अर्को टेलिश्रृंखला ‘तितो सत्य’का चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर फिल्म ‘छ एकान छ’ निर्माण गरे। १२ वर्षअघि निर्माण भएको यस फिल्मले दर्शकमाझ राम्रै छाप छाड्यो। त्यसपछि ‘छक्का पञ्जा’ देखिएका जितु उक्त फिल्मका अरू शृङ्खलामा भने देखिएनन्।
निर्माण पक्षसँग मनमुटाब चलेपछि टिमबाट बाहिरिएका उनी कमेडी बेस छाडेर ‘ह्यारी कि प्यारी’ हुँदै फिल्म ‘कार्साङ’, ‘आइएम जित बहादुर’मा देखिए। यी फिल्ममा उनी दुखिया पात्रमा देखिए। हास्य विधाबाट उदाएका उनको अभिनय भावुकतर्फ मोडियो। प्रदर्शनको तयारीमा रहेको उनको अर्को फिल्म ‘कार्की साइँला’मा उनी अब भरियाको भूमिकामा देखिँदै छन्।
आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको पहिलो गीत ‘लग्यौ परान’को रिलिज भइसकेको छ। ‘कार्की साइँला’मा समावेश यस गीतमा उनी अभिनेत्री प्रियना आचार्य (मुन्नी)नाचेका छन्। गीतमा आफ्नो नाच हेरेपछि जितु नेपालले अब सिरिसय भूमिका पाइयो भने काम गर्ने, तर प्राथमिकतामा कमेडी जनरा रहने घोषणा गरेका छन्।
बिग मुभिज कमल पोखरीमा राखिएको गीत रिलिज कार्यक्रममा जितुले आफूले अब भावुक वा रुवाउने खल्का भूमिकामा काम नगर्ने निर्णय सुनाए। पत्रकारले उनलाई सोधेका थिए, ‘तपाईंको एउटा लय थियो कमेडी। तपाई एउटा लयमा बगिरहनु भएको थियो। कतै तपाई यो लयबाट चिप्लिएर अर्को लयमा जाँदाखेरि यो परिस्थिति आएको हो कि?’
आफू नचिप्लिए पनि चिप्लिने ठाउँमा पुगेको तर्क गरेका उनले अब आफू कमेडीयन वेशमा फर्किने बताए। "चिप्लिएको चाहिँ होइन। चिप्लिने ठाउँमा टेक्न खोज्या छु," उनले भने, "मलाई मेरो साथी दीपकराज गिरीले पनि भन्नुभएको थियो, कि हामी हिजो त्यही ट्वाक्क टुक्क, त्यही जिरे खोर्सानी, त्यहीँ गाईजात्रा गरेर आएको मान्छे। हामीले कमेडी गर्नुपर्छ।"
उनले अगाडि थपे, "मलाई कतिले भने- तँ हँसाउने हो नि? अब मलाई रुवाउनेतिर लाग्यो, भावुक बनाउने तर्फ लाग्यो। त्यो खालको भूमिका मलाई आयो। काम गर्ने एक प्रकारको वातावरण बन्यो। अब हजुरले भने जस्तो, अब म क्लियर छु। आउँदा जुन सुकै भूमिकामा अभिनय गर्छु। तर मैले गर्ने चिज चाहिँ कमेडी नै हुन्छ।"
सामाजिक सञ्जालमा गरिने कमेन्टलाई लिएर उनको चित्त दुखाइ छ। जितुले भने, "मैलाई फिल्म आउँछन् त म के गरौं? आएका जति के म छोडेर हिडौं? अहिले पनि मसँग २-४ वटा फिल्म छ त। त्यस कारण अरूको सफलतामा जल्ने होइन। यो किन सफल भयो। किन यति सिम्पल यो लिड गरिरहेको छ। म आज किन यस्तो गरिरहेको छैन जितु दाइ। तपाई प्रेरणाको स्रोत हो भन्नु पर्यो क्या मान्छेहरूले।"
उनी आफैले लगानी गरेको फिल्म ‘आइएम जित बहादुर’गत असार ५ गते अल नेपाल रिलिज भएको थियो। सिङ्गल निर्माताका रूपमा आएको फिल्म फ्लप भएपछि उनी निकै तनावमा देखिन्छन्।
साउन २१, २०८३ बिहीबार १६:२८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।