‘मन बिनाको धन’को सिक्वेल बन्दै, तर अशोकको भूमिका अनिश्चित!
काठमाडौं : गत वर्ष प्रदर्शनमा आएको बाल गायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ले व्यावसायिक सफलता हासिल गर्यो।
संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माण कस्तो होला भन्ने जिज्ञासाभन्दा पनि अशोकको जीवन कथासँग मेल खाने विषयवस्तु रहेको हुँदा दर्शकको आकर्षण उनीप्रति थियो।
दमकको सडकमा कुनै समय गीत गाउँदै हिँडेका अशोकको सङ्घर्ष र उनको स्वरमा चर्चित बनेका ‘मन बिनाको धन’ तथा ‘आमाभन्दा राम्री कोही छैन संसारमा’ जस्ता गीतहरूले त्यसअघि नै चर्चामा पाउँदा दर्शकहरूलाई हलसम्म तान्न भूमिका खेल्यो।
फिल्मको सफलताले निर्माण टोलीलाई उत्साहित बनायो। सुरुमा दोस्रो भाग नबनाउने भनेका टंक बुढाथोकी अन्ततः यसैको ‘सिक्वेल’ निर्माणमा जुटेका छन्।
दोस्रो भागका लागि टंकले कलाकारहरूको मजबुत ‘लाइनअप’ तयार पारेका छन्। फिल्ममा सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी यसअघि नै अनुबन्ध भइसके।
मंगलबार मात्रै निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मासँग पनि सम्झौता गरेको थियो। यसका अलावा किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ जस्ता अनुभवी कलाकारहरू पनि फिल्ममा देखिनेछन्।
कलाकारहरूको ठूलो लाइनअप रहेको यस फिल्ममा पहिलो भागका कलाकार अशोकलाई भने अहिलेसम्म अनुबन्ध गरिएको छैन। टंककै छोरा एआर बुढाथोकीको अभिनयबारे पनि निर्माण पक्षले स्पष्ट पारेको छैन।
कलाकारहरूको अहिलेसम्मको छनोट हेर्दा निर्माण पक्षले एआर बुढाथोकीलाई प्राथमिकतामा राखेर अशोकलाई सानो भूमिकामा मात्र खुम्च्याउन खोजेको हो कि भन्ने आशंका उब्जिएको छ।
अशोक मुख्य भूमिकामा दोहोरिन्छन् वा उनी यस पटक ओझेलमा पर्ने हुन्, त्यसबारे फिल्म छायांकनमा गएपछि प्रस्ट होला। अहिलेलाई भने फिल्म ‘पार्वती’मार्फत अशोक भदौ १२ गतेबाट हलमा प्रवेश देखिँदै छन्।
साउन २१, २०८३ बिहीबार १५:४३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।