सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र नागरिक सुरक्षामा गम्भीर प्रश्न

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र नागरिक सुरक्षामा गम्भीर प्रश्न

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका विभिन्न भागमा घटेका घटना र शान्ति-सुरक्षाको स्थितिलाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनामा सरकारको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाए। उनले उक्त घटनामा राज्यले संयमता र जवाफदेहिता समेत देखाउन नसकेको आरोप लगाए।

"सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारले संयमता पनि गुमायो, जवाफदेहिता पनि सरकारको देखिएन," प्रवक्ता चालिसेले भने, "पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सरकारी सुरक्षा प्रणालीको कमजोरी, सुरक्षा अनभिज्ञता र नीतिगत अनभिज्ञताले नागरिक सुरक्षालाई थप असुरक्षित बनाएको छ।"

सुनसरीको लाहान घटनामा समेत राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै उनले सरकारका जिम्मेवार व्यक्तिहरू सामाजिक सञ्जालमा सीमित भएको आरोप लगाए। 

कांग्रेसले सरकार स्थिर, पारदर्शी र उत्तरदायी होस् भन्ने चाहना राखेको उल्लेख गर्दै चालिसेले त्यसलाई कमजोरी नठान्न चेतावनी दिए। उनले कुनै दल वा सरकारको आन्तरिक मामिलामा टिप्पणी गर्ने मनसाय नभए पनि लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य–मान्यता र नागरिक अधिकारमाथि प्रहार हुँदा कांग्रेस मौन बस्न नसक्ने स्पष्ट पारे।

चालिसेले कांग्रेसले सरकार बलियो, स्थिर, पारदर्शी र उत्तरदायी होस् भन्ने चाहना राखेको स्पष्ट पार्दै त्यसलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे।

उनले भने, "कुनै पनि दलको वा सरकारको आन्तरिक मामिलामा टिप्पणी गर्न चाहदैनौ तर सरकारको गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली संवैधानिक मूल्य र नागरिक अधिकार माथि प्रश्न उठेको बेलामा हामी मौन रहन पनि सक्दैनौँ।" 

प्रवक्ता चालिसेले सरकारको कार्यशैली, निर्णय प्रक्रिया तथा सुशासनका क्षेत्रमा देखिएका कमजोरी सच्याउन आवश्यक रहेको भन्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए।

देशमा विद्यमान संकट कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा चुनौती भएको बताउँदै प्रवक्ता चालिसेले सरकारलाई आफ्ना गम्भीर त्रुटिहरू तत्काल सच्याएर जिम्मेवार प्रतिपक्षको सुझावलाई मनन गर्न आग्रह गरे।

साउन २०, २०८३ बुधबार १४:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।