इरानसँग ‘राम्रो सम्झौता गर्ने अन्तिम अवसर’ भएको ट्रम्पको दाबी, इन्धनको मूल्य घटाउन अमेरिकी कम्पनीलाई आग्रह
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले वार्ता भइरहेको दाबी गर्दै यो इरानका लागि ‘राम्रो सम्झौता गर्ने अन्तिम अवसर’ भएको बताएका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत ट्रम्पले इरानको दोहोरो चरित्रको आलोचना गरेका छन्।
इरानले भित्रभित्रै वार्ताको प्रस्ताव गर्ने तर सार्वजनिक रूपमा भने दुई देशबीच कुनै छलफल नभएको दाबी गर्ने गरेको उनको भनाइ छ।
ह्वाइटहाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले इरानकै अनुरोधमा वार्ता सुरु भएको पनि दाबी गरे।
‘होर्मुज जलडमरू’ पूर्ण रूपमा अमेरिकी नौसेनाको नियन्त्रणमा रहेको बताउँदै ट्रम्पले चेतावनी दिए, ‘नयाँ सम्झौता वा आत्मसमर्पण नगरेसम्म हाम्रो अनुमतिबिना इरानमा कुनै पनि सामान जान दिइने छैन।’
यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्य तत्काल घटाउन आग्रह गरेका छन्।
आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि बढ्दो महँगी र इन्धनको मूल्य नियन्त्रण नभए रिपब्लिकन पार्टीले संसद् (प्रतिनिधिसभा) मा आफ्नो बहुमत गुमाउन सक्ने जोखिम रहेकाले ट्रम्पले यस्तो अपिल गरेको विश्लेषकहरूले बताएका छन्।
साउन १९, २०८३ मंगलबार ०७:३१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।