बडीमालिकाबाट सुरु हुँदैछ ‘ए मेरो हजुर ५’को सुटिङ
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी प्रचारप्रसारका क्रममा 'सुदूर अब दूर नाई' भनेर चर्चा गरेको बाजुरास्थित बडीमालिका मन्दिरबाट ‘ए मेरो हजुर ५’को छायांकन सुरु हुने भएको छ। निर्देशक झरना थापाले साउन २९ गतेबाट सुटिङ यहाँबाट फिल्मको छायांकन सुरु गर्ने जानकारी गराएकी छन्।
प्रधानमन्त्री शाहले गत वर्षको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रचारप्रसारका लागि धनगढीमा आयोजित चुनावी सभामा ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका र त्यसको पराकाष्ठा रामारोशन यहीँ छ भने किन बनाउनु पर्यो स्विजरल्यान्ड ?’ भनेपछि बडीमालिकाको चर्चा चुलिएको थियो।
निर्देशक थापाले ‘ए मेरो हजुर ५’को शुभमूर्हतको लागि सोही ठाउँ रोजेकी हुन्। शाहसँग खिचाएको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै उनले फिल्ममा सुहाना थापा र अनमोल केसीको जोडी रहने जानकारी समेत दिएकी छन्। थापाले लेखेकी छन्, "नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ चलचित्र 'ए मेरो हजुर ५'को छायाङ्कन यात्रा यही श्रावण २९ गतेदेखि शुभारम्भ हुँदैछ।"
निर्देशक थापा अगाडि लेख्छिन्, "हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो।"
प्रधानमन्त्री शाहले बडीमालिकालाई सुदूरपश्चिमको गौरव र नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरेको ठाउँबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा गौरवान्वित महसुस भएको उनले भनेकी छन्।
"यही पवित्र र मनमोहक भूमिबाट चलचित्रको यात्रा सुरु गर्न पाउँदा हामी गौरवान्वित छौं। नेपाली प्रकृति, संस्कृति र भावनालाई चलचित्रमार्फत अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने हाम्रो प्रयास रहनेछ," थापाले लेखेकी छन्। सुनिल कुमार थापाको लगानी रहने यस फिल्मलाई सञ्जय लामाले खिच्नेछन्।
निर्माण पक्षले फिल्मको मुख्य कलाकारका रूपमा सुहाना र अनमोलको नाम सार्वजनिक गरेका छन्। अन्य कलाकारका बारेमा उनीहरू कुनै सूचना चुहाएका छैनन्। कलाकार सुहाना र अनमोलको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यसअघिको फिल्म ‘एक भागवत एक गीता’मा पनि अनमोल र सुहानाले सहकार्य गर्ने चर्चा थियो। तर विपिन कार्कीले अभिनय गरेका थिए। जुन फिल्म बक्स अफिसमा कमजोर बन्यो।
सुहाना र अनमोलले अभिनय गरेको ‘ए मेरो हजुर’ शृङ्खलाका अघिल्ला चारै संस्करणले बक्स अफिसमा राम्रै व्यापार गरेका थिए। स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’मा अभिनय गरेकी झरना थापाले त्यसको दोस्रो सिक्वेलबाट निर्देशन थालेकी हुन्।
साउन १८, २०८३ सोमबार १८:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।