‘सिटामोल’पछि सानेको नयाँ दाउ : ‘लज्जावती’
काठमाडौं : राजबहादुर सानेद्वारा निर्देशित फिल्म ‘लज्जावती’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसार थालेको छ।
सोमबार फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरेर निर्माण टिमले फिल्मको कथावस्तुबारे जानकारी सार्वजनिक गरेको छ।
प्राय कर्णालीका कथालाई उठाउँदै आएका निर्देशक तथा लेखकसमेत रहेका सानेले सार्वजनिक गरेको यस फिल्मको ट्रेलरमा प्रेम कथालाई प्रस्तुत गरिएको छ।
तीन मिनेट लामो ट्रेलरमा लभ, बिछोड तथा धोकाकालाई कथावस्तु बनाइएको देख्न सकिन्छ। निर्देशकले दुई प्रेमिल जोडीको प्रेमकथामार्फत कथा भन्न खोजेका छन्। फिल्मका एक जोडी मुख्य पात्र मुकुन भुसाल र जानुका विश्वकर्मा देख्न सकिन्छ भने अर्को जोडीका रूपमा श्रीकृष्ण निरौला र मेनुका माझी छन्।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेका छन्।
आहा फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।
तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई दिव्यराज सुवेदीले खिचेको हुन् भने कुबेर सिने डिस्ट्रिब्युसनले वितरणको जिम्मेवारी लिएको छ। यसअघि सानेको निर्देशन रहेको फिल्म ‘सिटामोल’ व्यावसायिक रूपमा सफल हुन सकेन।
साउन १८, २०८३ सोमबार १७:५९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।