भारतको विधानसभा उपचुनावमा कक्रोच आन्दोलनको प्रभाव, भाजपाका गढमा बदलिँदै मत परिणाम
एजेन्सी : दिल्लीसहित भारतका विभिन्न क्षेत्रमा कक्रोच जनता पार्टी (सीजेपी)को आह्वानमा भएको युवा तथा विद्यार्थी आन्दोलनको प्रभाव विधानसभा उपचुनावमा देखिन थालेका छन्। आन्दोलन लगत्तै सम्पन्न विधानसभा उपचुनावको प्रारम्भिक नतिजामा यसअघिको भन्दा फरक मतपरिणाम देखिन थालेको छ।
बिहारको बांकीपुर सिटमा जन सुराज पार्टीका प्रमुख प्रशान्त किशोरले भाजपाको गढमा अग्रता लिइरहेका छन् भने मध्य प्रदेशको दतियासहितका केही स्थानमा सत्तारुढ भाजपा पछाडि देखिएको छ।
पटनाको सहरी क्षेत्रमा पर्ने र भाजपाको बलियो पकड मानिने बांकीपुर विधानसभा सिटमा १५ राउन्डको मतगणना सकिँदा प्रशान्त किशोर आठ हजारको मतान्तरले अगाडि छन्। यहाँ भाजपाका नीरज कुमारले उनलाई पछ्याइरहेका छन्।
आरजेडीकी रेखा कुमारी यहाँ तेस्रो स्थानमा छिन्। कुल ३१ राउन्ड मतगणना हुने यस सिटमा भाजपाका नितिन नवीन विधायक थिए। रणनीतिकारबाट राजनीतिमा होमिएका किशोर आफैँ मैदानमा उत्रिएका कारण यहाँको मत परिणामलाई निकै चासोका साथ हेरिएको छ।
मध्य प्रदेशको दतिया विधानसभा सिटमा भाजपालाई सुरुवाती धक्का लागेको छ। १५ मध्ये सात राउन्डको गणना सकिँदा भाजपाका आशुतोष तिवारी कांग्रेसका घनश्याम सिंहभन्दा तीन हजार बढी मतले पछाडि परेका छन्।
यहाँ प्रभावशाली नेता नरोत्तम मिश्रालाई टिकट नदिइएका कारण कार्यकर्तामा देखिएको असन्तुष्टि र हालैको युवा आन्दोलनको प्रभाव परेको विश्लेषण गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
जुलाई ३० मा मतदान भएको उपचुनावका फरक मत परिणामलाई दिल्ली लगायतका क्षेत्रमा भएको युवा आन्दोलनहरूको प्रभाव रहेको लिन थालिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। सहरी र युवा मतदाताको बाहुल्यता रहेका क्षेत्रहरूमा देखिएको फरक मत परिणामले बदलिँदो राजनीतिक मुडको संकेत गरेको छ।
साउन १८, २०८३ सोमबार १५:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।