साथीको हत्या अभियोगमा १४ वर्षीय किशोरमाथि मुद्दा, सामाजिक सञ्जालको असरबारे बहस सुरू

साथीको हत्या अभियोगमा १४ वर्षीय किशोरमाथि मुद्दा, सामाजिक सञ्जालको असरबारे बहस सुरू

एजेन्सी : मलेसियामा १६ वर्षीया एक छात्राको चक्कु हानेर हत्या गरेको अभियोगमा १४ वर्षीय किशोरमाथि अदालतमा मुद्दा चलाइएको छ।

यो घटनापछि मलेसियाभर बालबालिकामा सामाजिक सञ्जालले पार्ने नकारात्मक असरबारे गम्भीर बहस सुरू भएको छ।

गत अक्टोबरमा राजधानी क्वालालम्पुर नजिकैको एक विद्यालयको शौचालयमा १६ वर्षीया याप सिङ जुएन मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि पटक-पटक चक्कु प्रहार गरिएको थियो।

घटनाका बेला १४ वर्षका रहेका अभियुक्त किशोरले भने अदालतसमक्ष आफू निर्दोष रहेको दाबी गरेका छन्। कानुनअनुसार उनी नाबालिग भएकाले नाम सार्वजनिक गरिएको छैन।

मलेसियामा १० वर्षभन्दा माथिका बालबालिकामाथि आपराधिक मुद्दा चलाउन सकिने कानुनी व्यवस्था छ। उमेर सानो भएकाले ती किशोरलाई मृत्युदण्डको सजाय भने हुने छैन।

तर, दोषी ठहर भएमा उनलाई ३० देखि ४० वर्षसम्मको जेल सजाय र कोर्रा हान्ने सजाय हुन सक्नेछ।

प्रहरीका अनुसार ती किशोर सामाजिक सञ्जालमा पाइने उग्र तथा महिलाविरोधी सामग्रीबाट प्रभावित भएको आशङ्का गरिएको छ। पक्राउ पर्दा उनको साथबाट एउटा चिट्ठीसमेत फेला परेको थियो।

यो घटनापछि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बालबालिकामाझ हुने हिंसाको मुख्य कारण मोबाइल र सामाजिक सञ्जाल रहेको बताएका थिए।

बालबालिकालाई अनलाइनका हानिकारक सामग्रीबाट जोगाउन मलेसिया सरकारले गत जुन महिनादेखि १६ वर्षभन्दा मुनिका बालबालिकालाई मुख्य सामाजिक सञ्जालहरूमा खाता खोल्न पूर्ण प्रतिबन्ध लगाइसकेको छ।

साउन १८, २०८३ सोमबार ११:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।