‘राजनीति नागरिक सेवाका लागि हो, तर चिप्लिएर सत्ताकै लागि भन्ने ठाउँमा पुग्यौं’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका संस्थापक नेताहरूले सत्ता र शक्तिको अभिलाषाले नभई विशुद्ध नागरिक सेवा र मानव कल्याणको उद्देश्य राखेर कांग्रेस पार्टी स्थापना गरेको बताएका छन्।
कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताए।
उनले भने, “यो पार्टी स्थापना गर्ने पार्टीका संस्थापक नेताहरूले सुरु गर्ने बेलामा सत्ता, शक्ति, यी सबै कुराहरू कहिल्यै सोचेका पनि होइनन्। त्यही नागरिक सेवा, त्यही मानव सेवाकै कोणको जराबाट प्रारम्भ भएको यो पार्टी आज नयाँ ठाउँमा आएको छ।”
राजनीतिभन्दा ठूलो नागरिक र मानव सेवा अरू केही नभएको उल्लेख गर्दै थापाले पछिल्लो समय सिङ्गो राजनीति शक्ति र सत्ता प्राप्तिको होडबाजीमा मात्र केन्द्रित भएकोमा चिन्ता व्यक्त गरे।
“त्यो नागरिक सेवा र मानव सेवा गर्नका निम्ति शक्ति भयो भने अझ बढी गर्न सकिन्छ, सत्ता भयो भने अझ बढी गर्न सकिन्छ भन्ने ठाउँबाट हामी चिप्लिएर कहाँ पुग्यौं भने जम्मा त्यो शक्ति र सत्ताको लागि मात्र हो भन्ने ठाउँमा पुग्यौं,” उनले थपे।
थापाले राजनीतिक नेतृत्वमा सहानुभूति र करुणा अनिवार्य हुनुपर्ने धारणा राखे। सामाजिक सञ्जालको लाइक र भ्युजमा रमाउने प्रवृत्तिको आलोचना गर्दै उनले नयाँ पुस्तालाई लाइफ (जीवन) र लाइकबीचको भिन्नता बुझ्न आग्रह गरे।
उनले भने, “यो लाइफ र लाइकको बीचमा चाहिँ लाइफ छान्न सक्ने, लाइफ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। लाइक आउँछ, पछ्याउँदै आउँछ। आए आउँछ नआए आउँदैन भनेर छान्न सक्ने, सोच्न सक्ने लिडर चाहिँ यो बेलामा चाहिन्छ। हाम्रो एक्सस्पेक्टेसन त्यो हो।”
उनले मानव सेवामा समर्पित हुनुले दिने सन्तुष्टि नै राजनीतिको वास्तविक प्रतिफल भएको बताए। आजको समयमा नयाँ चुनौतीहरू रहे पनि पार्टीको मूल मर्म नागरिक सेवा नै रहनुपर्नेमा थापाको जोड थियो।
साउन १६, २०८३ शनिबार १७:३१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।