तराई-मधेसको तनाव समाधान गर्न आन्दोलनरत पक्षसँग संवादमा गृहमन्त्री गुरुङ

तराई-मधेसको तनाव समाधान गर्न आन्दोलनरत पक्षसँग संवादमा गृहमन्त्री गुरुङ

काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको विवादपछि तराई-मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावको अवस्थालाई सामान्य बनाउन त्यहाँ खटिएका गृहमन्त्री सुधन गुरुङले शनिबार आन्दोलनरत पक्षसँग छलफल गरेका छन्।

सामाजिक सद्भाव कायम गर्दै शान्ति-सुरक्षाको अवस्था सहज बनाउन गृहमन्त्री गुरुङले धनुषा जिल्ला प्रशासन कार्यालय परिसरमा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग छलफल थालेका हुन्। 

छलफलमा हिन्दु सम्राट सेनाका प्रतिनिधि, स्थानीय क्लबका सदस्यहरूका साथै केही संघीय सांसदहरूसमेत उपस्थिति रहेको छ। यही साउन १० गते सुनसरीको कप्तानगञ्जमा भएको विवादले हिंसात्मक रूप लिँदा दुई जनाको मृत्यु भएको थियो।

सोही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर थप एक किशोरको मृत्यु भएपछि तराई-मधेशका जिल्लाहरूमा तनाव बढेको थियो। 

छलफलका क्रममा आन्दोलनरत पक्षले सुनसरी घटनाका बेला काटिएको विद्युत् आपूर्तिको छानबिन हुनुपर्ने, मृतकहरूलाई सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेका छन्।

यसअघि शुक्रबार जनकपुरमा बसेको सर्वपक्षीय बैठकले तनाव मत्थर पार्न सहमति गरेपछि शनिबार बिहान सद्भाव र्याली निकालिएको थियो। तर, सोही क्रममा हिन्दु सम्राट सेनाले केही असहमति जनाउँदै प्रदर्शन गरेपछि गृहमन्त्री आफैँ वार्तामा बसेका हुन्।

गृहमन्त्री गुरुङले मधेसका जिल्लाहरूको स्थलगत अवस्था बुझ्दै सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेका छन्। उनले सरकार संवाद र सहमतिका माध्यमबाटै उत्पन्न समस्या समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

प्रशासनले पछिल्लो समय केही ठाउँमा कर्फ्यु हटाउने, खुकुलो बनाउने गरे पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निषेधाज्ञा भने पूर्ण रूपमा हटाइसकेको छैन। निरन्तर वार्ता र संवादको प्रक्रिया भइरहेकोले तराई-मधेशको अवस्था क्रमशः सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ।  

साउन १६, २०८३ शनिबार १६:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।