निखिलको फिल्म ‘आचार्य’को फर्स्ट लुकमा देखियो भिएफएक्सको झुर प्रभाव

निखिलको फिल्म ‘आचार्य’को फर्स्ट लुकमा देखियो भिएफएक्सको झुर प्रभाव

काठमाडौं : नेपालमा पछिल्लो समय एक्सनभन्दा इमोसनल सोसल ड्रामा विधाका फिल्महरूले बक्स अफिसमा व्यवसायीक सफलता हासिल गरिरहेको देखिन्छ। अघिल्ला वर्षमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘परान’ र अहिले प्रदर्शनरत फिल्म ‘गौँथली’को सफलतालाई हेर्दा दर्शकको रुचि सामाजिक तथा भावनात्मक विषयवस्तुमा केन्द्रित रहेको देखायो।

अर्कोतर्फ, एक्सन जनरामा निर्माण भएका ‘कर्मा’, ‘बलिदान’ र गत वर्षको अन्त्यमा सार्वजनिक ‘राम नाम सत्य’ जस्ता फिल्मले व्यावसायिक रूपमा सोचेजस्तो सफलता पाउन सकेनन्। भावनात्मक फिल्महरूले बजार तताइरहेका बेलामा ‘एक्सन हिरो’का रूपमा स्थापित निखिल उप्रेती लामो समयको अन्तरालपछि पर्दामा देखिँदैछन्।

एक्सन जनराका फिल्मले अपेक्षित रूपमा दर्शकको साथ नपाउँदा केही समय फिल्म क्षेत्रसँग दुरी बनाएर कहिले प्रवचन त कहिले मोटिभेसन स्पिकरका रूपमा देखिएका निखिलले अन्ततः फिल्म ‘आचार्य’ मार्फत कमब्याक गर्न लागेका हुन्। 

झण्डै एक दशकअघि फिल्म ‘भैरव’ निर्देशन गरेका उनी यस पटक दक्षिण भारतीय शैलीको एक्सनप्रधान फिल्म ‘आचार्य’ लिएर आउँदैछन्। निखिलकै लेखन तथा निर्देशन रहेको यस फिल्मको बिहीबार 'फर्स्ट लुक' सार्वजनिक गरिएको छ, जहाँ उनी शक्तिशाली र रहस्यमय अवतारमा प्रस्तुत छन्। 

ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक 'फर्स्ट लुक'लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियोमा निखिलको हातमा चिल बसेको देखिन्छ भने अर्को दृश्यमा उनले गाडीको टायरलाई चक्रको शैलीमा घुमाउँदै एक हातमा गन बोकेका छन्। फस्टलुकमा भिएफएक्सको निकै कमजोर प्रयोग भएको प्रस्टै देखिन्छ। तर प्रतिक्रिया भने राम्रै आएको देखियो।

४६ सेकेन्ड लामो 'फर्स्ट लुक'ले यो समाचार तयार गर्दासम्म दुई लाख ९३ हजारभन्दा बढीले हेरिसकेका छन् भने करिब १४ हजार लाइक र १८ सयभन्दा बढी कमेन्ट पाएको छ। करिब एक दशकपछि पर्दामा फर्किएका निखिलले यस फिल्ममार्फत दर्शकको रुचिलाई पुनः एक्सनतर्फ मोड्ने प्रयास गरेको देखिन्छ।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा निखिलका साथै पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, निर्मल शर्मा, रक्षा गौतम र भारतीय कलाकार दीपराज राणाको अभिनय रहेको छ। 

कृष्ण भट्टराईले लगानी गरेको यो फिल्मको छायाङ्कन सौरभ लामा, मनु विके र नवराज कृष्ण थापाले गरेका हुन्। निखिलले यसै वर्ष ‘कस्तुरी’ र ‘पारस’ लगायतका अन्य केही फिल्ममा पनि काम गरिरहेका छन्।

साउन १६, २०८३ शनिबार १५:१५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।