सरकार स्टाटसमा होइन, नेतृत्वमा देखिनुपर्छ : गगन थापा

सरकार स्टाटसमा होइन, नेतृत्वमा देखिनुपर्छ : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएर मात्र दायित्व पूरा नहुने बताएका छन्।

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा  सहभागी भएर बाहिरिने क्रममा सभापति थापाले सुनसरी घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्।

सर्वदलीय बैठकपछि उनले भने, "सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्।"

सभापति थापाले प्रधानमन्त्रीले सबै राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग संवाद गरी साझा रणनीति बनाउनुपर्ने धारणा राखे।

थापाका अनुसार संकटको समयमा सबै राजनीतिक दल, प्रदेश तथा स्थानीय सरकार, र सरोकारवाला निकायहरूलाई एकै ठाउँमा ल्याउने प्रमुख जिम्मेवारी सरकारकै हो। उनले सुनसरी घटनापछि सरकारले लिनुपर्ने अपेक्षित राजनीतिक नेतृत्व लिन नसकेको बताए। उनले संकटका बेला सरकारको मुख्य जिम्मेवारी संवाद, सहकार्य र विश्वास निर्माण गर्नु भएको उल्लेख गरे।

थापाले सरकारले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनेभन्दा व्यवहारिक नेतृत्व देखाउनुपर्ने धारणा राख्दै भूकम्प र कोभिड महामारीका समयमा दलहरूबीचको सहकार्यलाई उदाहरणका रूपमा प्रस्तुत गरे।

साउन १३, २०८३ बुधबार १०:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।