‘एक्का मिस्सी बादशाह’मा साम्राज्ञी अनुबन्ध, सुरुमा गरेकी थिइन् आनाकानी
काठमाडौं : तीन वर्षअघिसम्म निर्माता-निर्देशकहरूबीच आफ्नो फिल्ममा अनुबन्ध गर्न हानाथाप हुने र व्यावसायिक सफलताको ग्यारेन्टीका रूपमा हेरिने अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको साख पछिल्ला असफलतासँगै धर्मराएको देखिन्छ।
'ह्यारी कि प्यारी', 'तिम्रो मेरो साथ' देखि 'लण्डन टु पेरिस' लगायत फिल्मले बक्स अफिसमा व्यवसायिक रूपमा असफल रहे। लगातार उनको अभिनय रहेका फिल्म फ्लप भएपछि उनी केही म्युजिक भिडियोमा अभिनय गर्नतर्फ लागिन्। तर उनको चर्चा भने चुलिएको थिएन।
यतिबेला उनी फिल्म ‘एक्का मिस्सी बादशाह’मार्फत दर्शकमाझ आउने तयारीमा जुटेकी छन्। उनलाई बोल्ड अवतारमा सञ्जय राई निर्देशकले यस फिल्ममार्फत अभिनय गराउन लागेका हुन्। निर्देशक राईको डेव्यु निर्देशकीय यो फिल्ममा उनी ‘आश’ पात्रको भूमिका देखिनेछिन्। शनिबार निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गरेको थियो।
साम्राज्ञीले आफूलाई सुहाउँदो भूमिका नपाएर पनि होला, अभिनय क्षमता प्रस्तुत गर्न सकेकी थिइनन्। शनिबार पत्रकारसँगको कुराकानीमा उनले बल्ल आफूले न्याय गर्न सक्ने पात्र पाएको सुनाइन्। साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले फिल्ममा ग्याप देखिएको स्वीकार गरिन्। निर्माणको तयारीमा रहेको फिल्म एक्का मिस्सी बादशाहमा आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको उनले सुनाइन्।
मिडियाकर्मीसँग उनले भनिन्, "मलाई यो फिल्मको क्यारेक्टर निकै मन पर्यो। त्यसैले काम गर्न राजी भएकी हुँ। सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले फिल्मको कथा र आफ्नो क्यारेक्टरबारे सुनाएपछि मेरो सोच परिवर्तन भयो।"
उनले आफूले काम गर्न लागेको फिल्मको स्क्रिप्ट पढेको र आफूले सोचेको जस्तै पाएको बताइन। साम्राज्ञीले थपिन्, "मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ। मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ।"
फिल्म सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहने निर्माण पक्षले जानकारी दिएको छ। मोहिनीदेवी राईको प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा साम्राज्ञी बाहेक अन्य कलाकारको बारेमा निर्माण पक्षले जानकारी गराएन।
फिल्मको कथा अनुसार फिल्ममा लागि ‘क्रिश’ र ‘अर्जुन’नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको निर्माण पक्षले जानकारी गरायो। निर्देशक राईले यस पात्रका लागि अडिसन मात्र खोजिने र अडिसनका लागि खुला गरिएको बताए।
यसका अन्य पक्षको भने नाम सार्वजनिक भइसकेको छ। फिल्मको कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् भने फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्ने छन्।
संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट रहनेछन् भने फिल्मको सम्पादन सुनिल शिवभक्तिले गर्ने छन्। फिल्मको सुटिङ भने आगामी फागुनबाट मात्रै हुने निर्देशक राईले बताए।
साउन १२, २०८३ मंगलबार ११:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।