बक्स अफिसमा ‘गौँथली’ चम्किँदा ‘रोल नं १’ र ‘भागदौड’को कमाइ कति ?

बक्स अफिसमा ‘गौँथली’ चम्किँदा ‘रोल नं १’ र ‘भागदौड’को कमाइ कति ?

काठमाडौं : साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौथली’ले करिब साढे सात करोड रुपैयाँ कमाइ गरेको छ। आइतबार रातिसम्म दुई लाख ६० हजार २५४ वटा टिकट बिक्री गरेर गौँथलीले त्यसबाट उक्त रकम कलेक्सन गरेको हो।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आइतबार रातीसम्मको बक्स अफिस रिपोर्टमा गौँथलीले सात करोड ४२ लाख ७३ हजार रुपैयाँ कलेक्सन गर्न सफल भएको देखिन्छ।

तर गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं १’ले हिजोसम्म एक करोड ७८ लाख रुपैयाँ मात्रै कलेक्सन गरेको छ। यता फिल्म ‘भागदौड’ले भने चार सय ४२ वटा टिकट बिक्रीबाट एक लाख १९५ रुपैयाँ कलेक्सन गर्यो।

कुन फिल्ममा को-को कलाकार छन्? 
डाक्टर भोला रिजालको कथा तथा उनकै छोरा डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, प्रकाश घिमिरे, लुभिना तुलाधर, मदनकृष्ण श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सेना लगायतका कलाकारहरूले अभिनय गरेका छन्। फिल्मको लगानी सुमन गिरी र निर्देशक रिजाल आफैले गरेका हुन्।
 
यता गत जेठ १५ गतेबाट रिलिज भएको फिल्म ‘रोल न. १ मा मुकुन भुसाल, सुशांक मैनाली, रेणुनाथ योगी, सिर्जना अधिकारी र बालकालकारमा निर्भिक रेग्मी, रिन्चेन लामा लगायतको अभिनय हेर्न सकिन्छ। यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् भने लगानी विनोद पौडेलको छ।

यता असार २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘भागदौड’लाई हिमाल उप्रेतीले लेखेका हुन्। साथै निर्देशन पनि उनकै हो। यस फिल्ममा विशाल पोखरेल, अनीशा श्रेष्ठ (निशा श्रेष्ठ), घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल र लक्ष्मी गिरी मुख्य भूमिका रहेको छ। 

फिल्ममा वैदेशिक रोजगारीको भ्रम, फाइनान्स तथा सहकारी ठगी र मानिसको जीवनका उतारचढावलाई कथावस्तु निर्माण गरिएको छ। अहिलेसम्म हलमा प्रदर्शन भइरहेको सबैभन्दा कम कलेक्सन ‘भागदौड’को देखिएको छ।

नेपालमा यस वर्ष प्रदर्शनमा आएका अधिकांश फिल्मले कमजोर व्यापार गरिरहेका छन्। साथै यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म ‘लालीबजार’ रहेको छ। 

वैशाख २५ गतेबाट रिलिज भएको यो फिल्मले ५१ दिन हलमा मनाउँदा नौ करोड ३२ लाख कलेक्सन गरेको थियो। यस फिल्मलाई यम थापाले निर्देशन तथा लेखेका थिए भने अभिनेत्री स्वस्तिमा खड्कालाई दर्शकले रुचाएका थिए।  

साउन ११, २०८३ सोमबार १८:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।