‘आईसीयूलाई स्टुडियो नबनाऊ’ भन्दै ५ वटा स्वास्थ्य काउन्सिलको विज्ञप्ति

‘आईसीयूलाई स्टुडियो नबनाऊ’ भन्दै ५ वटा स्वास्थ्य काउन्सिलको विज्ञप्ति

काठमाडौं : अस्पतालका अति संवेदनशील सघन उपचार कक्ष (आईसीयू)मा पसेर अन्तर्वार्ता लिएको विषयमा स्वास्थ्य क्षेत्रका ५ वटा छाता काउन्सिलहरूले कडा आपत्ति जनाएका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति निकाल्दै आईसीयूलाई प्रचार सामग्री निर्माणको थलो नबनाउन अपिल गरेका छन्।

पछिल्लो समय युट्युबर सुरजसिंह ठकुरीले छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय विवादित बनेपछि प्रेस काउन्सिल नेपालले नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो।

प्रेस काउन्सिलले ‘आईसीयूमा मिडिया प्रवेशसम्बन्धी कुनै मापदण्ड वा कार्यविधि छ कि छैन?’ भनी सोधेको प्रश्नको औपचारिक जवाफ मेडिकल काउन्सिलले फर्काउन बाँकी नै छ।

तर, त्यसअघि नै ५ वटा काउन्सिलले मिडिया र अस्पताल दुवैका लागि कडा निर्देशिका रहेको विषय सार्वजनिक गरेका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद् रहेका छन्।

गम्भीर अवस्थामा आईसीयूमा रहेका बिरामीको मानसिक र शारीरिक अवस्थामा प्रतिकूल असर पर्ने भन्दै काउन्सिलहरूले बिरामीको जीवन, सङ्क्रमण नियन्त्रण र गोपनीयतालाई सर्वोच्च प्राथमिकतामा राख्न ६ बुँदे अपिल गरेका छन्।

१. स्वीकृतिविना प्रवेश निषेध: आईसीयू तथा अन्य संवेदनशील उपचार क्षेत्रमा सम्बन्धित स्वास्थ्य संस्था वा अस्पतालको पूर्वस्वीकृतिविना प्रवेश गरी बिरामीको फोटो, भिडियो, अडियो वा अन्तर्वार्ता रेकर्ड गर्न/गराउन पूर्ण रोक लगाइएको छ।

२. मञ्जुरीनामा अनिवार्य: सञ्चार आवश्यक नै भएमा बिरामीको अवस्था र निर्णय क्षमता विचार गरी बिरामी वा कानुनअनुसार अभिभावकको स्पष्ट सहमति लिनुपर्नेछ। अस्पतालको स्वीकृति प्राप्त भएपछि मात्र उपयुक्त माध्यम र स्थानमा पहुँच सुनिश्चित गर्नुपर्नेछ।

३. आईसीयूलाई स्टुडियो बनाउन नपाइने: आईसीयू तथा अन्य संवेदनशील उपचार कक्षलाई अन्तर्वार्ता, भिडियो उत्पादन वा प्रचार सामग्री निर्माणको स्थलका रूपमा प्रयोग गर्न नपाइने। आवश्यक संवाद उपचार क्षेत्रबाहिर सुरक्षित विकल्प खोजेर मात्र गर्नुपर्ने।

४. गोपनीयता र मानवीय मर्यादा: बिरामीको पहिचान, स्वास्थ्य अवस्था र तस्बिर/भिडियो प्रयोग गर्दा गोपनीयता, मानवीय मर्यादा र बिरामीको सर्वोत्तम हितको पूर्ण पालना गर्नुपर्ने।

५. अस्पतालले कडा प्रोटोकल बनाउनुपर्ने: अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सञ्चारमाध्यम तथा अन्य व्यक्तिको प्रवेश र रेकर्डिङसम्बन्धी स्पष्ट संस्थागत नीति/प्रोटोकल निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने।

६. बिरामीको पीडा बेच्न नपाइने: स्वास्थ्यकर्मीहरूले आफ्नो पेसागत आचारसंहिता पालना गर्नुपर्ने र बिरामीको पीडा, असहाय अवस्था वा उपचारको संवेदनशीलतालाई ‘कन्टेन्ट’ वा प्रचारको माध्यम बनाउन नहुने।

विज्ञप्तिमा बिरामीको सम्मान र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आम सञ्चारकर्मी, नागरिक र सरोकारवाला निकायलाई मानवीय मर्यादा कायम राख्न अनुरोध गरिएको छ।

पछिल्लो समय सुरज सिंह ठकुरीले बाढीबाट उद्धार गरिएकाहरूको सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता लिएपछि बिरामीको सुरक्षा, सङ्क्रमणको जोखिम र मिडिया इथिक्समाथि गम्भीर प्रश्न उठेको थियो।

सम्बन्धित समाचार

भदौ ३१, २०८३ बुधबार ०७:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।