अस्पताल बाहिरै सुत्केरी भएको घटना : दोषी स्वास्थ्यकर्मीलाई कारबाही गर्न काउन्सिलमा सिफारिस
काठमाडौं : गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति गराउन पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राप्त गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित विज्ञ टोलीले भदौ २५ देखि २७ गतेसम्म स्थलगत अध्ययन गरी यो प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदन प्राप्त भएसँगै मन्त्रालयले प्रशासनिक सुधार तथा दोषीमाथि कारबाहीको प्रक्रिया तत्काल अघि बढाएको छ। छानबिनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरूलाई कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको छ।
अस्पतालमा कर्मचारीको नियुक्ति तथा व्यवस्थापन अस्तव्यस्त रहेको प्रतिवेदनले औँल्याएपछि मन्त्रालयले सुधारका कदमहरू समेत चालेको छ।
कर्मचारी व्यवस्थापनलाई सहज बनाउन अर्थ मन्त्रालयको सहमतिमा ८० जना अस्थायी दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ। साथै, छात्रवृत्तिका ७ जना चिकित्सकलाई दुई वर्षका लागि उक्त अस्पतालमा खटाइएको छ। चिकित्सक तथा कर्मचारीको नियुक्ति र व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक परिपत्रसमेत गरिसकेको जनाएको छ।
मन्त्रालयले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह सुधार गर्ने र आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ अन्तर्गतका निःशुल्क सेवाबारे मातृभाषामा जनचेतना फैलाउने प्रतिबद्धता जनाएको छ।
भदौ ३१, २०८३ बुधबार १२:५९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।