दुई हप्ताको भीषण आक्रमणपछि पछि हट्यो अमेरिका; कूटनीतिक पहल कि सैन्य बाध्यता?

दुई हप्ताको भीषण आक्रमणपछि पछि हट्यो अमेरिका; कूटनीतिक पहल कि सैन्य बाध्यता?

एजेन्सी : लगातार दुई हप्तासम्म चलेको बमबारीपछि अमेरिकी सेनाले इरानमाथिको आफ्नो हवाई आक्रमण तत्कालका लागि स्थगित गरेको छ। तर, अमेरिकाले अचानक सैन्य कारबाही रोक्नुको वास्तविक कारणबारे भने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले फरक-फरक दाबी गरिरहेका छन्।

सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ। यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्पष्ट पारेको छैन।

सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै ओमानको प्रतिनिधिमण्डलले ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्ने विषयमा वार्ता गर्न तेहरान भ्रमण गर्ने भएकाले उक्त वार्तामा अवरोध नहोस् भन्ने उद्देश्यले अमेरिकाले आक्रमण स्थगित गरेको जनाएको छ।

द्वन्द्वका कारण विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज ठप्प भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले ओमानसँग तेहरानमा प्राविधिक तहका वार्ताहरू भएको र त्यसमा सकारात्मक प्रगति भइरहेको पुष्टि गरेका छन्।

यसैबीच, अमेरिकी सेनाका 'जोइन्ट चिफ्स अफ स्टाफ'का अध्यक्ष जनरल डान केनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वायु रक्षा प्रणालीमा प्रयोग हुने 'प्याट्रियट'  इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डार तीव्र गतिमा घट्दै गएको चेतावनी दिएका छन्। इरानविरुद्धको अभियानमा अमेरिकाले १२ सयभन्दा बढी प्याट्रियट इन्टरसेप्टर प्रयोग गरिसकेको छ, जसमध्ये प्रतिमिसाइल लागत ४० लाख अमेरिकी डलरभन्दा बढी पर्छ। थप कारबाहीले अमेरिकी सेन्ट्रल कमान्डको भण्डार नै रित्तिने जोखिम देखिएकाले आक्रमण रोकिएको द न्युयोर्क टाइम्सले जनाएको छ।

यसैबिच युद्धलाई पूर्ण रूपमा फैलन नदिन र तनाव कम गर्न कूटनीतिक प्रयासहरू तीव्र पारिएका समाचार संस्था एपीले जनाएको छ। 

झन्डै पाँच महिना पुग्न लागेको यस द्वन्द्वबारे बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप सैन्य कारबाही र कूटनीतिक वार्ता दुवै विकल्प खुला रहेको बताएका छन्।

पछिल्लो समय हवाई आक्रमण रोकिएको भए पनि क्षेत्रीय तनाव कायमै छ। यमनका हुथी विद्रोहीले साउदी अरेबियामाथि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन् भने अमेरिकी नौसेनाले इरानमाथिको नाकाबन्दीलाई निरन्तरता दिँदै ओमानको खाडीमा एक जहाज नियन्त्रणमा लिएको जनाएको छ।

गत फेब्रुअरी २८ मा अमेरिकासँगै इरानविरुद्धको युद्धमा होमिएको इजरायल पछिल्ला अमेरिकी हवाई आक्रमणहरूमा प्रत्यक्ष रूपमा सहभागी भएको छैन। अर्को साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनको भ्रमण गर्दैछन्, जसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

मध्यस्थकर्ताहरूका अनुसार इरान र अमेरिका दुवै अस्थायी युद्धविराम सम्झौतामा फर्कन चाहन्छन्। इरानले जलमार्गमा अवरोध पुर्याएपछि अमेरिकाले इरानको तटीय रक्षा प्रणाली, पुल तथा अन्य पूर्वाधारहरूमा आक्रमण बढाएको थियो। विश्लेषकहरूका अनुसार यी आक्रमणको उद्देश्य इरानलाई पुनः वार्ताको टेबलमा ल्याउनु हो।

अहिलेको सैन्य विराम स्थायी शान्तितर्फको कदम हो वा थप आक्रमणअघिको तयारी मात्र हो भन्ने कुरा आगामी कूटनीतिक वार्ताको नतिजाले नै तय गर्ने विश्लेषकहरूले बताएका छन्।

साउन १०, २०८३ आइतबार १३:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।