प्रश्नपत्र चुहावटविरुद्ध लड्दा हिजो लाठी खाएका धर्मेन्द्र प्रधानको आज त्यस्तै प्रकरणले गुम्यो मन्त्री पद
एजेन्सी : नीट परीक्षाको प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा एक महिनाभन्दा लामो समयदेखि जारी विद्यार्थी आन्दोलन देशभर फैलिन थालेपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान पदबाट राजीनामा दिन बाध्य बने।
प्रश्न पत्र चुहावटको विषयलाई लिएर प्रधानको राजीनामा माग गर्दै संसद्तर्फ मार्च गरिरहेका विद्यार्थी र युवाहरूमाथि गत जुलाई २० मा प्रहरीले लाठीचार्ज गरेपछि कैयौं प्रदर्शनकारी घाइते भई अस्पताल भर्ना भएपछि सरकारमाथि नैतिक दबाब बढेको थियो।
सोही घटनापछि देशभरका मुख्य शहरहरुमा प्रदर्शन हुन थाले। यहीबिच प्रदर्शनरत पक्षसँग सरकारले वार्ता समेत गर्यो। तर, शिक्षामन्त्री प्रधानको राजीनामा सरकार सहमत नहुँदा सहमति बन्न सकेन। कक्रोच जनता पार्टीको आह्वानमा सुरु भएको प्रदर्शन नरोकिने देखिएपछि अन्ततः उनले राजीनामा दिए।
प्रधानको राजीनामासँगै २९ वर्षअघिको एउटा सन्दर्भ अहिले चर्चामा आएको छ। सन् १९९७ मा ओडिसाको तत्कालीन जेबी पटनायक सरकारको पालामा प्रश्न पत्र बाहिरिएपछि त्यसविरुद्ध विद्यार्थी प्रदर्शन हुँदा प्रधान आफैँ प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए।
अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) को राष्ट्रिय महासचिव हुँदै राष्ट्रिय राजनीतिमा बलियो स्थान बनाउन सफल प्रधानको नेतृत्वमा प्लस टु (कक्षा १२) को प्रश्न पत्र बाहिरिएको विरोधमा राज्य सचिवालय अगाडि प्रदर्शन गरेका थिए। बीबीसी हिन्दीका अनुसार सन् १९९७ जुलाईको तेस्रो हप्तामा भएको उक्त प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध लाठी बर्साउँदा प्रधानसहित ६४ जना कार्यकर्ता घाइते भएका थिए।
कुनै समय आफैँ प्रश्न पत्र बाहिरिएको प्रकरणविरुद्ध सडकमा उत्रिएर घाइते भएका नेता प्रधान अहिले आफैँ सोही प्रकृतिको समस्या समाधान गर्न नसकेको आरोप खेप्दै सत्ताबाट बाहिरिनु परेको छ।
८० को दशकमा तालचेर कलेजको विद्यार्थी युनियनको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका प्रधान राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँगको लामो आबद्धताका कारण भारतीय जनता पार्टी (बीजेपी) भित्र प्रभावशाली मानिन्थे।
उनले उत्कल विश्वविद्यालयको विद्यार्थी युनियनको चुनावमा हार बेहोरे पनि संघ र संगठनप्रतिको निष्ठाका कारण पार्टीको उच्च ओहोदामा र सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा पुगेका थिए।
साउन ९, २०८३ शनिबार १७:१०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।