जन्तरमन्तरबाट सीजेपीको सन्देश : 'झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ'

जन्तरमन्तरबाट सीजेपीको सन्देश : 'झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ'

एजेन्सी : भारतमा नीट परीक्षाको प्रश्न पत्र बाहिरिएको विषयलाई एक महिना बढी समयदेखि दिल्लीको जन्तरमन्तरमा जारी धर्ना र आन्दोलन देशभर फैलिएपछि अन्ततः शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्यो। उनको राजीनामा पछि आन्दोलनरत विद्यार्थीहरूमा खुसीयाली छाएको छ।

जन्तरमन्तरमा आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी)का समर्थकहरूले राजीनामाको खबर सार्वजनिक भएसँगै नाराबाजी गर्दै खुसीयाली मनाए। सीजेपीका संस्थापक अभिजीत दिप्केले प्रधानको राजीनामालाई आन्दोलनको सफलताका रूपमा चर्चा गरे।

"यो सरकारमा राजीनामा हुँदैन भन्ने गरिन्थ्यो, तर झुक्छ संसार, झुकाउने मान्छे चाहिन्छ," उनले भने। सरकारले मनपरी गरे पनि निरन्तर धर्ना र विरोध प्रदर्शन गरेर अन्ततः शिक्षा मन्त्री प्रधानलाई राजीनामा गराएरै छाडेको दिप्केले बताए।

शिक्षामन्त्रीको राजीनामा आएता पनि सीजेपीले आफ्ना थप मागहरू पूरा नभएसम्म आन्दोलन नरोकिने भनेको छ। कक्रोच एक पटक पसेपछि सहजै ननिस्कने भन्दै दिप्केले थप दुई वटा मुख्य माग अघि सारेका छन्। जसमा नीट प्रकरणका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही एक करोड क्षतिपूर्ति दिनुपर्ने र आन्दोलनकारी विद्यार्थीमाथि लगाइएका मुद्दाहरू फिर्ता गरिनुपर्ने रहेका छन्।

दिल्ली प्रहरीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले विद्यार्थीमाथि बल प्रयोग गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। लोकतन्त्रमा जनताको आवाजको सुनुवाइ हुनुपर्नेमा जोड दिँदै दिप्केले भने, "मलाई एक महिनादेखि मानिसहरूले भन्थे- के गरिरहेका छौं, कहिलेसम्म यसरी बसिरहन्छौं, यिनीहरूले राजीनामा दिनेवाला छैनन्। यो मनपरी गर्ने सरकार हो, तर हामीले गरेर देखायौं।"

साउन ९, २०८३ शनिबार १६:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।