‘मोदी भारतका विगत हुन्, आन्दोलनरत विद्यार्थी भविष्य हुन्’

‘मोदी भारतका विगत हुन्, आन्दोलनरत विद्यार्थी भविष्य हुन्’

एजेन्सी : भारतमा नीट परीक्षाको प्रश्न पत्र बाहिरिएको विषयलाई लिएर केही सातादेखि विद्यार्थी आन्दोलन र राजनीतिक विवाद जारी छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत युवा विद्यार्थीहरूको अडान छ। 

यसै सन्दर्भमा भारतीय कांग्रेस एवं संसद्का विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र वर्तमान शिक्षा प्रणालीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता राहुलले नीट परीक्षा विवादमा सरकारले विद्यार्थीहरूको भावना बुझ्न नसकेको आरोप लगाए। उनले प्रधानमन्त्री मोदीलाई विगत र आन्दोलनरत विद्यार्थीहरूलाई देशको भविष्य भन्दै सरकारले युवाहरूको हितमा काम गर्न नसकेको टिप्पणी गरे।

"यो त्यही प्रणाली हो, जसले उनीहरूमाथि आक्रमण गरिरहेको छ। मैले विद्यार्थीहरूलाई भनेको छु, नआत्तिनुहोस्। भारत सरकारका सबै शक्ति मिलेर पनि तपाईंहरूलाई त्यहाँबाट हटाउन सक्दैनन्। उनीहरू भारतको भविष्य हुन् र कसैले पनि भविष्यसँग लड्न सक्दैन। नरेन्द्र मोदी भारतको विगत हुन, विगतले कहिल्यै भविष्यसँग लड्न सक्दैन," राहुलले भने।

उनले प्रधानमन्त्री मोदीलाई विद्यार्थीहरूसँग माफी माग्न माग गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई तत्काल पदबाट हटाउनुपर्ने विद्यार्थीहरूको मागमा ऐक्यबद्धता जनाए। "यो प्रणाली चलाउने मुख्य व्यक्ति प्रधानमन्त्री हुन्। उनले बुझ्नुपर्छ कि यो सुझावको विषय होइन, विद्यार्थीहरूको माग शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। विद्यार्थीहरूमाथि आक्रमण भएको छ, उनीहरूलाई अपमान गरिएको छ, त्यसैले प्रधानमन्त्रीले माफी माग्नुपर्छ," राहुलले भने।

यता आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्केले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्। सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन तोडेपछि प्रतिक्रिया दिँदै दिप्केले उनको स्वास्थ्यप्रति राहत व्यक्त गरे पनि आन्दोलनको मुख्य मागबाट पछि नहट्ने बताए ।

"धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ। सोनम सरले अनशन तोड्नुभएकोमा हामी खुसी र राहत महसुस गरिरहेका छौं, किनकि उहाँको जीवन देशका लागि निकै महत्त्वपूर्ण छ," उनले भने। दिप्केले सरकारसँग हुने कुनै पनि वार्ता तटस्थ स्थानमा हुनुपर्ने अडान राख्दै शिक्षा मन्त्रीको राजीनामाबाहेक अन्य कुनै पनि विकल्प स्वीकार्य नहुने बताए।

यसअघि सामाजिक अभियन्ता सोनम वाङचुकले पेपर लिक प्रकरणमा विद्यार्थीहरूको समर्थनमा गरेको २६ दिन लामो अनशन शुक्रबार अन्त्य गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत आफ्नो निर्णयमाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै आफूले आन्दोलनप्रतिको प्रतिबद्धता प्रमाणित गर्न ‘चरित्र प्रमाणपत्र’ आवश्यक नभएको बताएका छन्।

वाङचुकले केन्द्र सरकारले निट परीक्षा प्रणाली सुधार र प्रतिस्पर्धात्मक परीक्षाको संरचनागत सुधारका विषयमा लिखित आश्वासन दिएपछि अनशन तोडेको जानकारी दिएका छन्। उनले यसअघि मौखिक आश्वासन मात्र दिइएकाले लिखित प्रतिबद्धताका लागि दुई दिन ढिलाइ भएको बताए।

केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग करिब दुई घण्टा लामो छलफलपछि सीजेपीका प्रतिनिधिहरूले सरकारले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबारे छलफल गर्न शनिबार दिउँसोसम्म समय मागेको दाबी गरेका छन्। 

साउन ९, २०८३ शनिबार १४:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।