दिल्लीमा संसद् मार्च गर्ने विद्यार्थीमाथि पेलेट गन चलाइएको आरोप, मेडिकल रिपोर्टले देखायो चोट; सीआरपीएफले थाल्यो अनुसन्धान
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीको जन्तर-मन्तरमा गत सोमबार भएको विद्यार्थी प्रदर्शनका क्रममा सुरक्षा बलले पेलेट गन प्रयोग गरेको आरोप लागेको छ। सरकारी अस्पतालको चिकित्सकीय प्रतिवेदनले एक प्रदर्शनकारीको शरीरमा पेलेटका चोटहरू देखिएको उल्लेख गरेपछि उक्त आरोपलाई थप बल मिलेको छ।
केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ)ले उक्त घटनामा र्यापिड एक्सन फोर्स (आरएएफ) को भूमिकामाथि छानबिन सुरु गरेको छ।
गत जुलाई २० मा कक्रोच जनता पार्टी (सीजेपी)को आह्वानमा नीट परीक्षाको प्रश्न पत्र बाहिरिएको विरोधमा विद्यार्थीहरूले संसद् मार्च निकालेका थिए। प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो।
सोही क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको, लाठीचार्ज गरेको र पेलेट गन चलाएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा सुरक्षाकर्मीले विद्यार्थीहरूलाई नियन्त्रणमा लिन कडा बल प्रयोग गरेको देखिन्छ।
भारतीय सञ्चार माध्यमका अनुसार अहिले संकलन गरिएका तथ्य, भिडियो फुटेज र मेडिकल रिपोर्टका आधारमा घटनाक्रमको समीक्षा भइरहेको छ। छानबिन प्रतिवेदन तयार भएपछि दोषीमाथि कोर्ट अफ इन्क्वायरी वा अन्य अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ।
दङ्गा नियन्त्रणका लागि आरएएफले पेलेट गन प्रयोग गर्न सक्ने प्रावधान भए पनि त्यसका लागि कडा मानक सञ्चालन प्रक्रिया पालना गर्नुपर्ने हुन्छ। यो हतियार असाधारण परिस्थितिमा मात्र र शरीरको तल्लो भागमा लाग्ने गरी डिफ्लेक्टर प्रयोग गरेर चलाउनुपर्ने भारतीय नियम छ।
यता दिल्ली पुलिसले भने प्रदर्शनमा आफूहरूले पेलेट गन प्रयोग नगरेको र आफूहरूसँग त्यस्तो हतियार उपलब्ध समेत नरहेको स्पष्ट पारेको छ। घटनापछि सीआरपीएफले आफ्ना कर्मचारीहरूलाई सञ्चारमाध्यमसँग अनधिकृत संवाद नगर्न र सामाजिक सञ्जालमा विवादित टिप्पणी नगर्न निर्देशनसमेत दिएको छ।
साउन ८, २०८३ शुक्रबार १९:१४:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।