पार्टी फुट्ने चेतावनी दिँदा गगन भन्छन्: ‘तर्सिनेवाला छैनौं’
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले बिपी कोइरालाको स्मृति दिवसमा आयोजना गरेको छुट्टै कार्यक्रममार्फत पार्टी विभाजनको निर्णायक मोडमा पुगेको घोषणा गर्यो।
आगामी साउन २९ गतेसम्म सम्मानजनक एकता गर्न दबाब दिँदै यदि त्यसो नभए पार्टी फुटको औपचारिक घोषणा गर्नेसम्मको चेतावनी दियो। संस्थापन इतर पक्षले खुला रूपमा पार्टी फुट्को चेतावनी दिएपछि कांग्रेसको आन्तरिक राजनीति यतिबेला उत्कर्षमा छ।
पार्टी एकता बचाउने प्रयास र फुट्को अभ्यास सँगसँगै भइरहँदा त्यसले निम्त्याउन सक्ने विषयमा बहस भइरहेको छ। कांग्रेस सभापति गगन थापाले पनि असन्तुष्ट पक्षले पार्टी फुटाउँदा त्यसबाट हुन सक्ने क्षतिको विषयलाई लिएर आफूमाथि दबाब बढेको संकेत गरे।
तर, आगामी निर्वाचन र सत्ता प्राप्तिका लागि पार्टीको सिद्धान्त र आस्थासँग सम्झौता नगर्ने उनले प्रष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित सभामा थापाले कांग्रेस केवल इलेक्सन मेसिन मात्र हुन नहुने धारणा राखे।
केही नेताहरूले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनको डर देखाएर आफूलाई तर्साउन खोजेको उल्लेख गर्दै उनले कांग्रेस एउटा चुनावको नतिजाबाट नआत्तिने बताए।
थापाले भने, "कहिलेकाहीँ नेताले पनि तर्साउन खोज्नुहुन्छ। हेरौँला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौँला प्रदेशको चुनाव भन्नुहुन्छ। हामी बीपी कोइरालाका कार्यकर्ता हौं। हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिइहाल्ने होइनौं। हामी चुनाव हारिएला तर आस्थासँग सम्झौता गर्दैनौं।"
उनले पार्टीपङ्क्तिलाई चुनावको मानसिकताबाट बाहिर निस्किएर समाजसँग जोडिन आग्रह गरे। उनले भने, "हामी चार जना कांग्रेस जम्मा भयौं भने हाम्रो कुरा के भइहाल्छ अबको चुनावमा के हुन्छ ? भन्नेमा। हामी इलेक्सन मेसिन जस्तो भयौं। त्यसबाट बाहिर निस्कनुपर्यो।"
उनले पार्टी कार्यकर्ताहरूलाई रिलबाट निस्किएर रियल लाइफमा फर्किन समेत सुझाव दिए। सिद्धान्तहीन गठबन्धनको राजनीतिप्रति कडा असहमति जनाउँदै थापाले समाज र सिद्धान्तले नस्विकार्ने बाटो कांग्रेसले रोज्न नहुने जिकिर गरे।
“हामी चुनाव हारिएला, नजितिएला भनेर आस्थासँग सम्झौता गर्दैनौं। समाजले पनि नमान्ने अनि सिद्धान्तले पनि नमान्ने गठबन्धनको राजनीति बोक्ने काम छैन,” उनले भने।
शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति नभएको उल्लेख गर्दै थापाले कांग्रेसले सत्ताभन्दा पनि समाज र नागरिकको विश्वासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
साउन ७, २०८३ बिहीबार १९:१४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।