विद्यार्थीले सोनम वाङ्चुकको समर्थनमा प्रदर्शन गरेपछि हरियाणामा स्कुलका प्रिन्सिपल निलम्बित

विद्यार्थीले सोनम वाङ्चुकको समर्थनमा प्रदर्शन गरेपछि हरियाणामा स्कुलका प्रिन्सिपल निलम्बित

एजेन्सी :  भारतको हरियाणा राज्यस्थित महेन्द्रगढ जिल्लाको एक सरकारी विद्यालयका १५ जना छात्राले दिल्लीमा अनसनरत सोनम वाङ्चुकको समर्थनमा प्रदर्शन गरेपछि त्यहाँको भारतीय जनता पार्टी (भाजपा) सरकारले विद्यालयका प्रिन्सिपललाई निलम्बन गरेको छ।

भारतीय पत्रिका ‘द ट्रिब्युन’का अनुसार, सामाजिक सञ्जालमा छात्राहरूको प्रदर्शनको तस्बिर र भिडियो सार्वजनिक भएपछि कनीना मन्डीस्थित सरकारी सिनियर सेकेन्डरी स्कुलका प्रिन्सिपल नरेश कौशिकमाथि यस्तो कारबाही गरिएको हो।

यो घटना गत जुलाई १७ को हो। यस विषयमा सत्यतथ्य पत्ता लगाउन स्थानीय ब्लक शिक्षा अधिकारी (बीईओ) को नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको थियो।

समितिको अनुसन्धानपछि मंगलबार (जुलाई २१ मा) हरियाणा सिभिल सेवा (सजाय र पुनरावेदन) नियम, २०१६ अन्तर्गत प्रिन्सिपल कौशिकलाई निलम्बन गर्ने आदेश जारी गरिएको हो।

बीईओ सुरेश कुमारका अनुसार अनुसन्धानका क्रममा विद्यालयका प्रिन्सिपल, शिक्षक, छात्राहरू र उनीहरूका अभिभावकको बयान लिएर समितिले प्रतिवेदन बुझाएको थियो।

बीईओ कुमारले भने, ‘प्रदर्शन विद्यालय परिसरबाहिर भएको थियो, तर छात्राहरू विद्यालयकै पोसाकमा थिए। विद्यालय बिदा भएपछि विद्यार्थीहरू सुरक्षित रूपमा घर पुगे/नपुगेको सुनिश्चित गर्नु विद्यालय प्रशासन र अभिभावक दुवैको जिम्मेवारी हो।’

यता, निलम्बित प्रिन्सिपल कौशिकले भने प्रदर्शन विद्यालयको समय सकिएपछि भएकाले आफूलाई यसबारे कुनै जानकारी नभएको बताएका छन्।

यसैबीच, कनीना मन्डीका विभिन्न सामाजिक संघसंस्था र स्थानीय बासिन्दाले प्रिन्सिपल कौशिकको पुनर्बहालीको माग गर्दै आवाज उठाएका छन्। कौशिकले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाइरहेको र उनी कुनै पनि गलत गतिविधिमा संलग्न नभएको उनीहरूको भनाइ छ।

स्मरण रहोस्, यसअघि गत जुन ७ मा दिल्लीको जन्तरमन्तरमा भएको एक विरोध प्रदर्शनमा सहभागी भएको भन्दै हरियाणाकी शिक्षिका सुलेखा दलाललाई पनि निलम्बन गरिएको थियो। यद्यपि, सरकारको उक्त कदमको सार्वजनिक रूपमा चर्को आलोचना भएपछि उनको जागिर पुनर्बहाली गरिएको थियो।

साउन ७, २०८३ बिहीबार ०९:०३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।