शिक्षामन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा राहुल र अखिलेश पक्राउ

शिक्षामन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा राहुल र अखिलेश पक्राउ

एजेन्सी : नीट प्रश्न पत्र चुहावट प्रकरणलाई लिएर प्रधानमन्त्री निवास बाहिर विरोध प्रदर्शनमा उत्रिएका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ।

नीट प्रकरणलाई लिएर दिल्लीकै जन्तर-मन्तरमा ककरोच जनता पार्टी (सीजेपी)को प्रदर्शन पनि जारी छ।

जन्तर-मन्तरमा युवाहरूको विरोध प्रदर्शन जारी रहँदा नेता गान्धी र यादवसहितका नेता शिक्षा मन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग्दै '७ लोक कल्याण मार्ग'स्थित प्रधानमन्त्री निवास बाहिर धर्ना दिन पुगेका थिए। 

धर्ना दिइरहेका बेला सोही ठाउँबाट उनीहरूसहित कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। बीबीसी हिन्दीका अनुसार प्रदर्शन स्थल केही समय तनावग्रस्त बनेको थियो।

कांग्रेस प्रवक्ता पवन खेड़ाले प्रहरीले गान्धीद्वयसँग दुर्व्यवहार गरेको र उनीहरूलाई कहाँ लगिएको छ भन्नेबारे जानकारी नदिएको दाबी गरेका छन्। धर्ना सुरु हुनुअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह प्रदर्शनकारी नेताहरूलाई भेट्न पुगेका थिए। 

भेटपछि सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री सिंहले नेता राहुल गान्धीले वाचा गरेर आफ्नो कुराबाट पछि हटेको दाबी गरे। यद्यपि, मन्त्री सिंहको उक्त दाबीमा कांग्रेसले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यता, कांग्रेसले भने विद्यार्थी र युवाहरूले न्याय नपाएसम्म र प्रधानमन्त्री स्वयं बाहिर आएर जवाफ नदिएसम्म प्रदर्शन जारी रहने बताएको थियो। 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले नीट प्रश्न पत्र चुहावटको विषयमा मङ्गलबार पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन्। उक्त धारणा प्रधानमन्त्री मोदी स्वयंले नभई संसदीय मामिला मन्त्री किरेन रिजिजुमार्फत सार्वजनिक गरिएको थियो।  

साउन ५, २०८३ मंगलबार २०:४६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।