सिक्किम सुरुङ पहिरो : १० जनाको मृत्यु, उद्धार टोलीलाई ग्यास र अक्सिजनको सकस

सिक्किम सुरुङ पहिरो : १० जनाको मृत्यु, उद्धार टोलीलाई ग्यास र अक्सिजनको सकस

एजेन्सी : सिक्किमको नाम्ची जिल्लामा निर्माणाधीन एनएचपीसीको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा अविरल वर्षासँगै गएको पहिरोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य कैयौँ श्रमिकहरू सुरुङभित्र फसेको आशङ्का गरिएको छ।

मङ्गलबार बिहान ९:३० बजेसम्म उद्धार टोलीले भत्किएको सुरुङबाट १० जनाको शव बाहिर निकालेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

प्रहरी उपरीक्षक सोनम डोमा भुटियाका अनुसार कठिन भौगोलिक बनावट र खराब मौसमका कारण सुरुआती तीनवटा उद्धार प्रयास असफल भएका थिए।

"सोमबार रातभर उद्धार कार्य जारी राखियो र मङ्गलबार बिहानै शवहरू निकाल्न सकियो। निरन्तर भइरहेको वर्षाले उद्धार कार्यमा बाधा पुर्याइरहेको छ," प्रहरी उपरीक्षक भुटियाले भनिन्।

मृतक १० मध्ये ७ जनाको पहिचान खुलेको छ। जसमा पश्चिम बङ्गालका बोलो ओराओँ, गोरा ओराओँ र बिकेसर ओराओँ, पञ्जाबका यसोहल, उत्तराखण्डका भिके रावत, असमका बाबुल बोरदोलोई र नाम्चीका लाक्पा दोर्जी तामाङ रहेका छन् भने बाँकी ३ जनाको पहिचान हुन बाँकी छ।

शवलाई परीक्षणका लागि नाम्ची, एसटीएनएम र सिंगताम जिल्ला अस्पताल पठाइएको छ।

सोमबार अपरान्ह नाम्ची जिल्लाको सामरडुङमा क्षेत्रमा रहेको सुरुङको प्रवेशद्वारबाट करिब १.५ किलोमिटर भित्र जम्मा भएको मिथेन ग्यास हटाउने प्रयासका क्रममा विस्फोट भएको र त्यसलगत्तै खसेको पहिरोले सुरुङको निकास ढोका बन्द गर्दा कामदारहरू भित्रै थुनिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरुङभित्र मिथेन ग्यास, अक्सिजनको कमी र अध्याँरोका कारण उद्धार टोलीलाई भित्र पस्न निकै सकस भइरहेको छ। ग्यासका कारण केही उद्धारकर्मीहरूसमेत अस्वस्थ भएका छन्।

एनएचपीसी आयोजनाका अनुसार दुर्घटनाको समयमा अधिकारीहरूसहित करिब २५ जनाभन्दा बढी श्रमिक सुरुङभित्र कार्यरत थिए। हाल हाजिरी पुस्तिका र प्रत्यक्षदर्शीहरूसँग समन्वय गरी थुनिएका श्रमिकहरूको यकिन सङ्ख्या पुष्टि गर्ने काम भइरहेको छ।

घटनापछि मङ्गलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई फोन गरेर परिस्थिति र उद्धार कार्यबारे जानकारी लिएका छन्। प्रधानमन्त्री मोदीले केन्द्र सरकारका तर्फबाट सम्भाव्य सबै सहयोग र राहत उपलब्ध गराउने आश्वासन दिएका छन्। मुख्यमन्त्री तामाङले प्रधानमन्त्रीको ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन्।

हाल घटनास्थलमा राष्ट्रिय विपद् प्रतिक्रिया बल, राज्य विपद् प्रतिक्रिया बल, सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन, प्रहरी, फायर एन्ड इमर्जेन्सी सर्भिसेस तथा स्वास्थ्य टोलीहरू निरन्तर खटिएका छन्। सिक्किमको पाक्याङ तथा छिमेकी पश्चिम बङ्गालको सिलिगुडीबाट विशेष उद्धार टोलीहरू घटनास्थल पुगेका छन्।

साउन ५, २०८३ मंगलबार १३:३०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।