भारतमा युवाहरूको 'कक्रोच' आन्दोलनद्वारा संसद् मार्च स्थगित, विरोध भने जारी रहने

भारतमा युवाहरूको 'कक्रोच' आन्दोलनद्वारा संसद् मार्च स्थगित, विरोध भने जारी रहने

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदर्शन गरिरहेका युवाहरूको 'कक्रोच जनता पार्टी' ले सोमबार प्रहरीसँग भएको झडपपछि संसद्तर्फको मार्च स्थगित गरेको छ।

यद्यपि, आफ्ना मागहरू पूरा नभएसम्म विरोध कार्यक्रम भने जारी रहने उनीहरूले बताएका छन्।

सोमबार संसदको वर्षे अधिवेशनको पहिलो दिन ५० हजारभन्दा बढी युवा तथा विद्यार्थीहरू शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सडकमा उत्रिएका थिए।

सुरुवातमा प्रदर्शनकारीहरूले प्रहरीलाई फूल दिएर शान्तिपूर्ण रूपमा कार्यक्रम सुरु गरेका थिए। तर, जन्तर मन्तरमा भिड बढेपछि र विद्यार्थीहरूले संसद्तर्फ अघि बढ्न  ब्यारिकेड चढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्नुका साथै जन्तर मन्तरमा बनाइएको मुख्य मञ्चसमेत भत्काएको छ। 

झडपका क्रममा आन्दोलनका संस्थापक अभिजीत दिप्के, सामाजिक अभियन्ता सोनम वाङचुककी पत्नी गीताञ्जली जे. आङमो, तथा चर्चित अभिनेताहरू शबाना आजमी र प्रकाश राज सवार ट्रकमाथि पनि प्रहरीले आक्रमण गरेको सिजेपीले आरोप लगाएको छ।

झडपको भोलिपल्ट मङ्गलबार बिहान सिजेपीका संस्थापक अभिजीत दिप्केले राम मनोहर लोहिया अस्पताल पुगी घाइते विद्यार्थीहरूसँग भेटघाट गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै उनले प्रहरीको बर्बर लाठीचार्जका कारण घाइते भएकी एक छात्राको अवस्था चिन्ताजनक रहेको बताएका छन्। दिप्केका अनुसार १५० भन्दा बढी घाइते आन्दोलनकारीहरूको अस्पतालमा उपचार भइरहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै दिप्केले भने, "प्रहरीले युवाहरूमाथि पुनः दमन गर्ने भएकाले हामी अब संसद्तर्फ मार्च गर्ने छैनौँ। हामी युवाहरूलाई थप घाइते बनाउन चाहँदैनौँ।"

दिल्ली प्रहरीका अनुसार सोमबारको झडपमा ११८ जना सुरक्षाकर्मी र ६० जना प्रदर्शनकारी गरी कम्तीमा १८० जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीहरूमाथि उग्र र हिंसात्मक व्यवहार देखाएको, सरकारी गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको तथा निषेधाज्ञा उल्लङ्घन गरेको आरोप लगाएको छ। दिल्ली प्रहरीका अनुसार झडपपछि ७० जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको छ र उनीहरूमाथि कानुनी कारबाही अघि बढाइनेछ।

मङ्गलबार बिहान दिल्लीको जन्तर मन्तरमा हल्का वर्षाका बीच १५० देखि २०० जना प्रदर्शनकारीहरू भेला भई नाराबाजी गरेका थिए। सो क्षेत्रमा अर्धसैनिक बल परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। 

साउन ५, २०८३ मंगलबार ११:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।