भारतमा संसद् भवन घेर्ने प्रयासमा जेनजी विद्यार्थी, छलफलमा जुट्यो केन्द्र सरकार

भारतमा संसद् भवन घेर्ने प्रयासमा जेनजी विद्यार्थी, छलफलमा जुट्यो केन्द्र सरकार
तस्बिर स्रोत : द वायर।

काठमाडौं : शैक्षिक मुद्दालाई अगाडि बढाउँदै भारतको दिल्लीमा कक्रोच जनता पार्टीले आयोजना गरेको संसद् केन्द्रित आन्दोलनमा सुरक्षा बलले बल प्रयोग गरेको छ। पेपर लिकको विषयबाट सुरु भएको आन्दोलन शिक्षामन्त्रीको राजीनामासम्ममा पुगेको छ।

यही मुद्दा अगाडि सार्दै कक्रोच समूहले दिल्लीमा सोमबार संसद् भवन जान आव्हान गर्दै प्रदर्शन सुरु गरेको थियो। करिब २ लाख प्रदर्शनकारीहरू दिल्लीको जन्तरमन्तरमा भेला भएर ब्यारिकेट तोड्दै संसद् भवनतिर अगाडि बढेपछि सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रहार र लाठी चार्ज गरेका थिए।

प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी र सुरक्षाकर्मी दुबैतर्फ घाइते भएका छन्। सोमबारबाट सुरु भएको संसद् सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका सत्ताधारी र प्रमुख विपक्षी दल कङ्ग्रेस आइका राहुल गान्धी लगायतकाहरु सहभागी छन्।

दवायरका अनुसार संसद् भवन बाहिर विध्यार्थीहरु निरन्तर विरोध प्रदर्शन गरिरहेका छन्। एक समूहले भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटेर आफ्नो तीन बुँदे माग राखेको छ। कक्रोच समूहकै सदस्य रहेका उनीहरूले सञ्जालमा नड्डा भेट्न कुरिरहेको तस्बिर सार्वजनिक गरेका थिए।

भारतमा जेनजी समूहले मिमको रूपमा सरकारको गतिविधिको विरोधमा कक्रोच जनता पार्टी सुरु गरेका थिए। उनीहरूले यस अगाडि पनि विरोध प्रदर्शन गरेका थिए। तर त्यो शान्तिपूर्ण रूपमा सकिएको थियो। पछि शैक्षिक माग राखेर सोनम वांगचुक अनशनमा बसे। उनलाई सुरक्षाकर्मीले जवर्जस्ती अनशनस्थलबाट उठाएपछि कक्रोच जनता पार्टी नै प्रदर्शनमा उत्रियो।

उनीहरूले मुख्य रूपमा केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। परीक्षाको पेपर लिक भएको घटनाको छानबिन र पेपर लिक प्रकरणपछि आत्महत्या गरेका विद्यार्थीको परिवारलाई प्रति परिवार एक करोड क्षतिपूर्तिको माग गरिरहेका छन्।

विध्यार्थीहरुको प्रदर्शन तितरबितर हुनुको साटो थप अन्य क्षेत्रमा समेत फैलिन थालेपछि भारतको केन्द्रीय सरकारमा समेत चहलपहल सुरु भएको छ। विध्यार्थीहरुको मागबारे शिक्षामन्त्री प्रधानसँग गृहमन्त्री अमित शाहले भेटेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

साउन ४, २०८३ सोमबार १७:१६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।