‘सत्ताकेन्द्रित राजनीतिले ठूलो मूल्य चुकायौं, अब कांग्रेसले सोच बदल्नुपर्छ’

‘सत्ताकेन्द्रित राजनीतिले ठूलो मूल्य चुकायौं, अब कांग्रेसले सोच बदल्नुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा प्रमुख तीन राजनीतिक दलहरू मिल्नुपर्ने धारणा ठिक नभएको बताएका छन्। यस्तो अभ्यासले संसदीय लोकतन्त्रको मर्मविपरीत संसद्लाई प्रतिपक्षविहीन बनाउने उनको तर्क छ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने, "तीनटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ! हामीले भन्यौं- रङ्ग! हुँदैन। यो नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ। तीन वटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेको के हो? तीन वटा पार्टी मिलेर प्रदेशमा सरकार बनाउनु भनेर भनेको प्रदेशको पार्लियामेन्टलाई प्रतिपक्षविहीन बनाउनु हो।"

संसदीय राजनीतिमा प्रतिपक्षको भूमिका अनिवार्य हुने उल्लेख गर्दै थापाले सत्ता व्यवस्थापनका नाममा संसद्लाई नै प्रतिपक्षविहीन बनाउनु लोकतन्त्रका लागि घातक हुने धारणा राखे। पछिल्लो समय दलहरूमा देखिएको सत्ताकेन्द्रित प्रवृत्तिका कारण राजनीतिक अस्थिरता बढेको उनको विश्लेषण छ।

विगतका राजनीतिक अभ्यासहरूको समीक्षा गर्दै थापाले भने, "एउटासँग मिलेर चुनाव लडेका छौं, त्यो चुनावपछि अर्कोसँग गरेका छौं। कोसँग को सरकार पक्ष हो, को प्रतिपक्ष हो थाहा छैन। आज बिहानसम्म सत्ता पक्ष भनेर बसिरहेको साथी भोलिपल्ट बिहान प्रतिपक्ष बनेको छ। प्रतिपक्ष बनेको साथी सत्ता पक्ष बनेको छ।"

उनले अगाडि थपे, "सम्पूर्ण कुरा सत्ता हो, सम्पूर्ण कुरा सत्तासँग जोडिएको कुरा हो- चाहे त्यो पार्टीको सत्ता होस्, चाहे देशको सत्ता होस् भन्ने जुन मान्यताबाट कांग्रेस मात्र होइन, नेपालका सबै पुराना राजनीतिक दलहरू ग्रसित हुँदै गर्दा आज हामीले ठूलो मूल्य चुकाउनुपरेको छ।"

पार्टीभित्रको कार्यशैली र सोच्ने तरिकामा परिवर्तन आवश्यक रहेको औँल्याउँदै थापाले कांग्रेसले अब आफ्ना प्राथमिकताहरू बदल्नुपर्नेमा जोड दिए। उनले पार्टीका संस्थापक नेताहरूको निष्ठा र आदर्शबाट सिक्दै आगामी पुस्ताले गर्व गर्न लायक कांग्रेस बनाउनुपर्ने धारणा राखे।

"हाम्रो सोच्ने तरिका बदल्ने हो, हाम्रा प्रायोरिटिजहरू बदल्ने हो। त्यो गर्नलाई कतै जानु पर्दैन," थापाले भने, "हाम्रै नेताहरू गणेशमान, किसुनजीले, बीपी, सुवर्ण शमशेरले... उहाँहरूको हिजो अप्ठ्यारो बेलामा नेपाली कांग्रेस पार्टी जसरी चलाउनुभएको हो, त्यसबाट सिकेर यो बेलामा नेपाली कांग्रेस पार्टी त्यसरी मात्रै चलायौं भने हामीले आगामी पुस्ताका निम्ति सबैभन्दा गर्व गर्ने पार्टी कांग्रेसलाई बनाउन सक्छौं।"

साउन ३, २०८३ आइतबार ११:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।