युक्रेनी ड्रोन आक्रमणमा रुसको सबैभन्दा ठूलो अनलाइन रिटेलरका दुई गोदाम ध्वस्त; ८ जनाको मृत्यु, ६२ घाइते
एजेन्सी : युक्रेनले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका दुईवटा गोदाममा ड्रोन आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।
रुसी अधिकारीहरूका अनुसार मस्कोबाट करिब २९५ माइल दक्षिण-पूर्वमा अवस्थित टाम्बोभ क्षेत्रमा रहेको गोदाममा भएको आक्रमणमा परी रात्रिकालीन सिफ्टमा काम गरिरहेका सात जनाको ज्यान जानुका साथै २५ जना घाइते भएका हुन्।
त्यस्तै, मस्को क्षेत्रको इलेक्ट्रोस्टालस्थित अर्को गोदाममा भएको आक्रमणमा १ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण गरिएको स्थानहरू रुसी सेनाका लागि ड्रोन उत्पादनका लागि प्रतिबन्धित उपकरण तथा नेभिगेसन सामग्री आपूर्ति गर्ने प्रमुख लजिस्टिक्स केन्द्र भएको दाबी गरेका छन्। उनले युक्रेनले आजोभ सागर, कालो सागर र रुसद्वारा अधिग्रहित क्रिमिया क्षेत्रमा पनि आक्रमण गरेको बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले भने, "यो आक्रमण युक्रेनी नागरिक पूर्वाधार, सहर र समुदायहरूमाथि रुसले गरिरहेको निरन्तर आक्रमणको जवाफ हो।"
विगत केही दिनमा भएका रुसी आक्रमणमा परि १४ जना युक्रेनी नागरिकले ज्यान गुमाएका थिए। युक्रेनले यसका साथै ब्ल्याक सी, सी अफ अजोभ र रुसद्वारा नियन्त्रित क्रिमियामा रहेका अन्य सैन्य लक्ष्यहरूमा पनि आक्रमण गरेको जनाएको छ।
रुसको 'अमेजन' भनेर चिनिने वाइल्डबेरिज कम्पनीकी सीईओ तात्याना किमले यस घटनालाई कम्पनी र रुसकै लागि 'एउटा भयानक रात' भन्दै दुःख व्यक्त गरेका छन्। सन् २०२६ को तथ्यांक अनुसार यो व्यापारिक समूहको बजार मूल्य करिब १२.६ अर्ब डलर रहेको छ।
टाम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेर्भिशोभले यसलाई हालसम्मकै 'सबैभन्दा ठूलो र अमानवीय' ड्रोन आक्रमण भएको बताएका छन्। उनका अनुसार रातभर गरिएको आक्रमणका क्रममा त्यहाँ आउँदै गरेका २८ वटा ड्रोनहरूलाई सेनाले खसालिदिएको थियो।
त्यस्तै, मस्को क्षेत्रका गभर्नर आन्द्रेई वोरोब्योभले मस्को क्षेत्रमा मात्रै ४८ वटा युक्रेनी ड्रोनहरू खसालिएको बताएका छन्। तर, एउटा खसालिएको ड्रोन रुसी तेल डिपोमा खस्दा त्यहाँ ठूलो आगलागी भएको र त्यसले 'गम्भीर परिणाम' निम्त्याएको उनले बताए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियो तथा तस्बिरहरूमा गोदाममा भीषण आगलागी भएको, कालो धुवाँको मुस्लो उठेको तथा कर्मचारीहरू भागेर बाहिर निस्किरहेको देखिन्छ।
युक्रेनले पछिल्लो समय रुसको आर्थिक मेरुदण्ड र सैन्य संयन्त्रलाई कमजोर बनाउन रुसी ऊर्जा पूर्वाधार र तेल प्रशोधन केन्द्रहरूलाई लगातार निसाना बनाउँदै आएको छ। किभका अनुसार युक्रेनी आक्रमणका कारण रुसको कुल तेल प्रशोधन क्षमताको झन्डै ४३ प्रतिशत हिस्सा निष्क्रिय भइसकेको छ।
लगातारका यी आक्रमणहरूका कारण रुसभित्र व्यापक इन्धन अभाव बढेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत युक्रेनी आक्रमणका कारण देशमा इन्धन अभाव भएको कुरा स्वीकार गर्दै आन्तरिक बजारमा इन्धन आपूर्ति बढाउन जुलाईको सुरुमा एउटा नयाँ विधेयकमा हस्ताक्षर गरेका थिए।
युक्रेनले रुसको तेल तथा ग्यास पूर्वाधारलाई वैध सैन्य लक्ष्य मान्दै आएको छ। रुसले यिनै ऊर्जा निर्यातबाट प्राप्त आम्दानीमार्फत युक्रेनमाथिको पूर्ण आक्रमणलाई वित्तीय सहयोग गरिरहेको युक्रेनको भनाइ छ।
साउन २, २०८३ शनिबार १७:२४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।