‘दलहरू ठूला मुद्दामै अलमलिए, नागरिकका दैनिक समस्या ओझेलमा परे’
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकका दैनिक जीवनसँग सम्बन्धित विषयप्रति राजनीतिक दलहरू पर्याप्त गम्भीर हुन नसकेको स्वीकार गरेका छन्।
कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘मानव-वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा उनले राजनीतिक दलहरू प्रायः ठूला राजनीतिक मुद्दामै केन्द्रित हुने भएकाले मानव-वन्यजन्तु द्वन्द्वजस्ता नागरिकका सरोकारका विषयले पर्याप्त प्राथमिकता पाउन नसकेको धारणा राखे।
"राजनीतिक दलका कार्यालयमा यस्ता विषयले कहिल्यै प्रवेश पाउँदैनन्। हामी ठूला-ठूला विषयमै अलमलिएका हुन्छौं। यी ठूला राजनीतिक मुद्दा होइनन्, तर नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका महत्त्वपूर्ण विषय हुन्। यसमा व्यापक बहस हुनुपर्छ र समाधान पनि हामीले नै खोज्नुपर्छ," उनले भने।
मानव-वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो।
थापाले भने, "नागरिकको जीवनसँग जोडिएको यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। यसलाई राजनीतिक दलले समाधान गर्नुपर्ने विषयका रूपमा लिनुपर्छ भन्ने हाम्रो धारणा छ। यस सम्बन्धमा छलफल गरेर एउटा दस्ताबेज तयार गर्छौं। त्यसपछि स्थानीय सरकारलाई पठाउँछौं र संसद्मा पनि साथीहरूमाझ प्रस्तुत गर्छौं।"
साउन १, २०८३ शुक्रबार २१:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।