सरकारी समयमा निजी अस्पतालमा काम गर्छन् कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज, मन्त्रालयको निर्णय टेरेनन्

सरकारी समयमा निजी अस्पतालमा काम गर्छन् कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज, मन्त्रालयको निर्णय टेरेनन्

काठमाडौं : काठमाडौंको धुम्बाराहिस्थित मण्डिखाटार रोडमा रहेको ‘ह्याम्स अस्पताल’को गेटबाट छिरेपछि भुइँतलामा सोमबार बिहान एउटा ओपिडी टिकट काटियो।

ओपिडीमा चिकित्सकसँग जँचाउनुपर्ने बिरामीको नाम थियो,  शंकर क्षेत्री। उमेर: ६ वर्ष। ओपिडीमा बिरामी जाँच गर्ने चिकित्सकको नाम, बालरोग विशेषज्ञ डा. पंकज राय। डा. रायले ओपिडीमा जाँचे वापतको शुल्क आठ सय ५०।

सोमबार डा. रायसँग जँचाउनका लागि टिकट काटिएको समय बिहानको नौ बजेर पाँच मिनेट थियो। टिकट काटिसकेपछि ह्याम्स अस्पतालको त्यही तलाको अलि अगाडि बढ्दा ओपिडीको कोठा नम्बर ‘३१५’ लेखिएको ढोकामा एउटा बोर्ड टाँसेको देखियो। बोर्डमा ‘डा. पंकज राय: पेडियाट्रिक्स’ लेखेको देखियो।

ह्याम्स अस्पतालमा डा. रायको ओपिडीको खास समय बिहान साढे सातदेखि साढे नौ बजेसम्म तोकिएको छ। नौ बजेर १५ मिनेटमा ओपिडीमा पुग्दा डा. राय बिरामी जाँचिसकेर भर्खरै निस्किएको खुल्यो।

उनी निस्किएको खुलेपछि ओपिडी टिकट बोकेर भोलिपल्ट (मंगलबार) बिहान साढे आठ बजे डा. रायलाई भेट्ने समय लिएर ६ वर्षीय बिरामी बालक शंकर क्षेत्रीका अभिभावक अस्पतालबाट बाहिरिए। तर, ६ वर्षीय बिरामी बालक शंकर क्षेत्री काल्पनिक बालक हुन्। अनि ती काल्पनिक बालकका अभिभावकका रूपमा ह्याम्समा ओपिडी  टिकट काट्ने उकेराकर्मी।

ह्याम्सले डा.पंकजको नाममा काटेको ओपिडी टिकट।यसरी काल्पनिक बालकको नामको टिकट काटेर उकेराकर्मी ह्याम्स अस्पतालमा पुग्नुको उद्देश्य थियो डा. पंकज रायले नियम विपरीत निजी अस्पतालमा काम गरिरहेका छन् की छैनन् भन्ने पुष्टि गर्नु। अस्पताल पुग्दा डा. राय कान्ति बाल अस्पतालका निर्देशक भए पनि नियम विपरीत निजी (ह्याम्स) अस्पतालमा काम गरेको पुष्टि भयो।

ह्याम्स अस्पतालपछि उकेराकर्मी सोमबार बिहान नौ बजेर ५५ मिनेटमा कान्ति बाल अस्पताल पुग्यो। कान्तिको गेटमा पुगेर निर्देशक आउनुभएको छ ? भनेर सोध्दा अस्पतालका एक कर्मचारीले भर्खरै आइपुगेको जानकारी दिए। त्यसपछि कान्ति बाल अस्पतालको निर्देशकको कार्यकक्षमा दश बजे पुग्दा डा. राय निर्देशककै कुर्सीमा भेटिए। ह्याम्स अस्पतालको ओपिडी सकेर उनी कान्ति बाल अस्पताल पुगेका थिए।

कुराकानीकोक्रममा अहिले सरकारी कार्यालय समय कति बजे हो?  भन्ने उकेराकर्मीको जिज्ञासामा निर्देशक डा. रायले जवाफ दिए, “खै, हामी त बिहानै आउँछौँ।”

तर, डा. रायले सरासर ढाँटे। किनभने करिब नौ बजेसम्म त डा. राय ह्याम्स अस्पतालको ओपिडीमा नै थिए। नौ बजेर  पाँच मिनेट जाँदासम्म ह्याम्समा उनलाई देखाउने बिरामी (शंकर क्षेत्री काल्पनिक बालक) का लागि टिकट नै काटिएको थियो। अनि साढे नौ बजेसम्म डा. राय ओपिडीमा नै हुने समय ह्याम्सकै वेबसाइटमा राखिएको छ।

कान्ति बाल अस्पताल र अस्पतालमा रहेको डा. पंकजको बोर्ड।सोमबार नै कान्ति बाल अस्पतालको ‘मेडिकल ओपिडी (फलोअप)’मा उनी बस्ने पालो थियो। तर, कान्तिकै एक चिकित्सकका अनुसार कान्तिको ओपिडीमा नेमप्लेट झुन्डिए पनि निर्देशक भएयता डा. रायले बिरामी जाँचेका छैनन्। उनी कान्तिको ओपिडीमा बस्दै बस्दैनन्, ह्याम्सको ओपिडी भने छोड्दैनन्।

ह्याम्स अस्पतालको वेबसाइटमा नै कान्तिका निर्देशक डा. रायको नाम र फोटो राखिएको देखिएपछि खोजबिन शुरु भएको हो। ह्याम्सको वेबसाइटमा राखिएको उनको फोटो र नामको मुनिबाट ‘‘चिफ कन्सल्टेन्ट एन्ड हेड अफ पेडियाट्रिक्स’लेखिएको छ।

बिहान साढे सातदेखि साढे नौ बजेसम्म ह्याम्सको ओपिडीमा डा. रायलाई भेट्न सकिने वेबसाइटमै खुलाइएको छ। जबकि बिहान नौ बजेदेखि बेलुका पाँच बजेसम्म सरकारी कार्यालय समय हो। वेबसाइटमा राखिएको यो तथ्यबाट नै डा. राय सरकारी नियम र सरकारी कार्यालय समयमा समेत निजी अस्पतालमा काम गर्ने गरेको खुल्यो।

तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतले ११औँ तहका डा. रायलाइ २०८० भदौमा  कान्तिको निर्देशक बनाएका थिए। त्यसयता अन्य अस्पतालका निर्देशकहरु बदलिए। तर सबै मन्त्रीले उनलाई कान्तिमा निरन्तरता दिए।

स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार सरकारी अस्पतालको नेतृत्वमा रहेका चिकित्सक निजी अस्पतालमा काम गर्नै पाउँदैनन्। २०७७ साउन ९ मा मन्त्रीस्तरीय निर्णय गर्दै सबै सरकारी चिकित्सकलाई निजी अस्पतालमा काम गर्न रोक्ने गरी निर्णय भए पनि तत्काल सबैको हकमा लागू गर्न कठिन हुने देखेपछि निर्णयको प्रारम्भ नेतृत्व तहमा रहेका चिकित्सकबाट सुरु भएको थियो।

सो मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (हाल  नाम परिवर्तन भएर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय) ले २०७७ साउन १२ मा स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका सबै निकाय,   सामाजिक विकास मन्त्रालय र स्थानीय तह अन्तर्गतका सबै निकायमा पत्राचार गरेको थियो।

सरकारी अस्पतालको नेतृत्वमा रहेकाले निजी चिकित्सकीय अभ्यास नगर्नेबारे स्वास्थ्य मन्त्रालयको पत्र र ह्याम्समा डा.पंकजको बोर्ड।संस्था प्रमुखको निरन्तर निगरानीमा संस्थाहरूको कार्य सम्पादनमा व्यापक सुधार हुने अपेक्षा सहित  २०७७ साउन ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पताल तथा स्वास्थ्य संस्था प्रमुख निजी अस्पतालमा काम गर्न जान नपाइने गरी दुई बुँदे निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयले गरेको ती दुई बुँदे निर्णयमध्ये पहिलो बुँदामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरू (विभाग, केन्द्र, महाशाखा, परिषद्, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने, यसभन्दा अगाडि निजी प्राक्टिस गर्न पूर्वस्वीकृति लिएको भए सो स्वीकृति स्वतः खारेज हुने उल्लेख छ।

दोस्रो बुँदामा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालहरूमा लेख्न नपाइने उल्लेख छ।

२०७७ साउन ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारकी अस्पतालको नेतृत्वमा रहेका चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाइने भए पनि कान्तिका निर्देशक निजीमा काम गरिरहेकोबारे स्वास्थ्य सचिव विकास देवकोटासँग जिज्ञासा राख्दा उनले मन्त्रालयले जारी गरेको परिपत्र पालना हुनुपर्ने बताए।

नियम विपरीत ह्याम्स अस्पतालमा काम गरेको विषयमा डा रायसँग मंगलबार कुरा गर्ने प्रयास सफल भएन। उनीसँग सम्पर्क गर्ने प्रयास गर्नुको कारण खुलाएर एसएमएस गर्दा समेत डा. रायले कुनै प्रतिक्रिया जनाएनन्।

असार ३०, २०८३ मंगलबार २१:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।